काठमाण्डौंः बाँके पूर्ण खोप जिल्ला घोषणा भएको छ । नेपालगञ्जमा आज आयोजित एक कार्यक्रमका बीच जिल्ला खोप समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तवले बाँके जिल्लालाई पूर्ण खोप घोषणा गर्नुभएको हो ।
घोषणा सभामा बोल्नुहुँदै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बाँके पूर्ण खोप जिल्ला घोषणा हुन सफल भएकोमा सबैलाई बधाई दिँदै खोप प्रतिको जागरण ल्याउन सम्बद्ध सरोकारवालालाई निर्देशन दिनुभयो ।
उहाँले प्रदेशका सबै बालबालिकालाई उनीहरुले पाउनु पर्ने खोप प्राप्तिका लागि सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशका बाँकी जिल्लालाई पनि तत्काल पूर्ण खोप घोषणा गरेर लुम्बिनी प्रदेशलाई नै खोप सुनिश्चित भएको प्रदेश घोषणा गरिने उल्लेख गर्नुभयो । बाल मृत्युदर रोक्नका लागि खोप अनिवार्य शर्त भएको मन्त्री बरालले बताउनुभयो ।
बाँकेमा जन्मेदेखि १५ महिना उमेर समूहका १० हजार ९ सय ५६ जना बालबालिकाले खोप लगाएका छन् ।
छुटेका १६ देखि २३ महिना उमेर समूहका ९ सय ५४ जनाले पनि खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया