असार २४, २०८२ मंगलबार July 8, 2025

क्षति न्यून हुने गरी शैक्षिक सत्र मिलान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको समयमा क्षति न्यून हुने गरी शैक्षिक सत्र मिलाउने भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले केही क्षति बेहोर्नुपरे पनि सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले कुनै क्षति नहुने गरी शैक्षिक सत्रको व्यवस्थापन गरिने जानकारी विश्वविद्यालयले दिएको छ ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले फागुन २५ गतेबाट स्नातक तहमा विद्यार्थी भर्ना गरी शैक्षिक सत्र सुरु गरिसकिएको जानकारी दिए। हाल स्नातक तहमा भर्ना भएका विद्यार्थीको परीक्षा आगामी पुस महिनामा गर्ने विश्वविद्यालयको योजना छ ।

यसका साथै स्नातकोत्तर तहको नयाँ शैक्षिक सत्र वैशाख अन्तिममा गर्ने निर्णयमा विश्वविद्यालय पुगेको छ । स्नातक तह तेस्रो वर्षको परीक्षाफल निर्धारित समयमा प्रकाशित गर्न सकिएको अवस्थामा वैशाखबाट स्नातकोत्तर तहको नयाँ भर्ना सुरु गर्न सकिने उनको भनाइ छ ।

स्नातक तहका अन्य वर्षका परीक्षाफल निर्धारित समयमा नै प्रकाशित हुने जनाइएको छ । स्नातक तहका पहिलो वर्षमा अध्ययन गर्ने विद्यार्थीको केही समय क्षति भए पनि त्यसलाई तीन वर्षको हाराहारीमा मिलाइने उनले जानकारी जनाए । वार्षिक प्रणालीअन्तर्गत अध्ययन गर्ने विद्यार्थीको अनलाइन कक्षा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेकाले विद्यार्थीको केही महिना क्षति भएको उनको भनाइ छ ।

विश्वविद्यालयले फागुनमा स्नातक तहको भर्ना कार्यक्रम सुरु गर्ने निर्णयसँगै कक्षा १२ उत्तीर्ण विद्यार्थीले भर्नाका लागि केही महिना कुर्नुपर्ने स्थिति देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा जेठ महिनामा पूरा गर्ने र भदौसम्म नतिजा प्रकाशित गरिसक्ने जनाएको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भदौसम्म कक्षा १२ को नतिजा प्रकाशित गरी उनीहरूलाई स्नातक तहको अध्ययनको बाटो खुल्ने बताए तर विश्वविद्यालयको हालको योजनामा कुनै परिवर्तन नगरे विद्यार्थीले स्नातक तहमा भर्ना हुन केही महिना कुर्नुपर्ने अवस्था देखिएको छ । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया