काठमाण्डौंः महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति मृत्यु भएको छ ।
भारतको गुजरातबाट चैत २२ गते फर्केका उनमा कोरोना संक्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा उहाँको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए। “भर्खरै कोरोना सङ्क्रमितको मृत्यु भएकोबारे खबर पाएको छु”, उनले भने, “अस्पताल जाँदैछु । त्यसपछि विस्तृत विवरण उपलब्ध गराउँछु ।”
मृत्यु भएका कोरोना सङ्क्रमितको आज दिउँसो शव व्यवस्थापन गरिने बताइएको छ । कोरोनाको दोस्रो संक्रमणको लहर शुरु भएपछि कञ्चनपुरमा पहिलो मृत्यु भएको छ। यसअघि कञ्चनपुरमा कोरोना सङ्क्रमणका कारण १४ जनाले ज्यान गुमाइसकेका छन् ।
हालसम्म कोरोनाको दोस्रो लहर फैलिएपछि एन्टिजेन विधिबाट एक हजार ९८० जनाको परीक्षण गरिएकामध्ये ६४ जनाको नतिजा पोजेटिभ आएको छ। तीमध्ये १२ जना महाकाली अस्पतालको आइसोलेशनमा रहेका छन् । मङ्गलबारमात्रै भीमदत्त नगरपालिका–२ का दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया