असार २८, २०८२ शनिबार July 12, 2025

अटोमोबाइल व्यवसाय ठप्पै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बन्दाबन्दी खुलेसँगै अघिल्लो वर्षको साउनयता क्रमशः अटोमोबाइलको माग बढ्दै गएकोमा यस वर्ष व्यवसाय चलायमान हुने अपेक्षा व्यवसायीको थियो । तर, पछिल्लो समय भारतमा बढ्दै गएको कोरोनाको प्रभावस्वरूप आपूर्ति हुन नसक्दा यस वर्ष पनि अटोमोबाइलको विक्री ठप्पै जस्तो छ ।

नेपालमा हरेक वर्ष दशैंअगाडि प्रायः भदौमा हुने नाडा अटो शोदेखि दशैंसम्म सबैभन्दा बढी गाडी विक्री हुने गरेको छ । त्यसपछि सबैभन्दा बढी विक्री नयाँ वर्षको समयमा हुने गरेको छ । २ वर्ष अघिसम्म फागुन लागेसँगै नेपालमा नयाँ भेरियन्टका गाडी सार्वजनिक हुने गरेको थियोे । पछिल्लो २ वर्ष भने अटोमोबाइल क्षेत्रमा उत्साह देखिएको छैन ।

निजी सवारीको माग ह्वात्तै बढे पनि मागअनुसार आपूर्ति नहुँदा नयाँ वर्षमा उत्साह नदेखिएको नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका महासचिव सुनील रिजालले बताए । अघिल्लो वर्ष कोरोनाका कारण रोकिएको व्यापारले अहिले गति लिन थालेकोक छ । बैंकमा तरलता देखिएका कारण अटोमोबाइल क्षेत्रमा उत्साह देखिएको छ ।

तर, आपूर्ति प्रभावका कारण समग्र रूपमा उत्साहजनक नदेखिएको उनले बताए । ‘कम आयात भएरै धेरै माग जस्तो देखिएको मात्र हो,’ उनले भने, ‘अर्थतन्त्र चलायमान भएर सवारीसाधनको माग ह्वात्तै बढेको भन्ने होइन ।’

कोरोनापछि सार्वजनिक यातायातभन्दा निजी सवारीमा आकर्षण बढेको व्यवसायीहरूको भनाइ छ । कोरोना शुरू भएयता नेपालमा सार्वजनिक बसको माग नै नभएर विक्री ठप्पै भएको व्यवसायीहरू बताउँछन् । यातायात व्यवसायीहरूले अहिले लामो दूरीको यातायात आधाभन्दा बढी घटाएको बताउँदै आएका छन् ।

कोरोनाको जोखिमकै कारण सार्वजनिकभन्दा निजी सवारीतर्फ आकर्षण बढेको नाडाका महासचिव रिजालको भनाइ छ । सुजुकी, टाटा, महिन्द्रा, ह्युन्दे, कियालगायत गाडीको माग उच्च रहेकोमा तिनको आपूर्ति समयमै गर्न नसकिएको व्यवसायीहरू बताउँछन् ।

नयाँ वर्षमा पुराना बुकिङका गाडीहरू डेलिभरी हुने गरेकोमा क्रमशः बुकिङका गाडीहरू आउन थालेको नाडाका सचिव एवं नारायणी अटो मोबाइल्सका सञ्चालक अनुपकुमार बरालले बताए ।आर्थिक अभियान दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया