काठमाण्डौः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४ औँ महाधिवेशनबारे विकल्प सोच्नुपर्ने बेला आएको बताउनुभएको छ ।
काठमाडौँस्थित जिल्ला सम्पर्क समितिले आज यहाँ आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानतः पार्टी सङ्कटमा पर्न खोजेको जनाउँदै महाधिवेशनबारे विकल्प सोच्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।
“काँग्रेसलाई अहिले कोरोना सङ्क्रमणबाट जनता बचाउने, लामो सङ्घर्षबाट प्राप्त गरिएको संवैधानिक व्यवस्था बचाउने र सङ्कटमा पर्न लागेको पार्टी बचाउने मुख्य तीन जिम्मेवारी छ,”– उहाँले भन्नुभयो । काँग्रेस नबचेसम्म प्रजातन्त्र र मुलुकको भविष्य बच्न नसक्ने उहाँको भनाई छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको गैरजिम्मेवारपनका कारण अक्सिजन अभावले कोरोना सङ्क्रमितको बिरामी मृत्यु हुनु दुःखद कुरा भएको बताउनुभयो । “वर्तमान सरकारले विश्वासको मत लिन नसकेर राष्ट्रपतिले नयाँ सरकारको आह्वान गरेपछि काँग्रेस नयाँ सरकार निर्माणमा लागेको हो,” उहाँले भन्नुभयो ।
काँग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले कोरोना महामारीको समयमा सरकारले जनताको अभिभावकत्व ग्रहण गर्न नसकेको बताउनुभयो । सांसद अमरेशकुमार सिंहले संविधानको रक्षा गर्ने प्रमुख जिम्मेवारी काँग्रेसको काँधमा आएको बताउनुभयो ।
काँग्रेस बर्दियाका सभापति सञ्जय गौतमले नेतृत्वमा इच्छाशक्ति भए समयमै पार्टीको महाधिवेशन सम्पन्न गर्न सकिने उल्लेख गर्नुभयो । काँग्रेस ताप्लेजुङका सभापति लिला बोखिम, इलामका सभापति हिमालय कर्माचार्य, नेपाली काँग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीलगायतले समयभित्र पार्टीको महाधिवेशन गर्नुपर्छ भन्नुभयो ।रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया