असार २६, २०८२ बिहिबार July 10, 2025

प्रतिनिधिसभा विघटन बहसमा न्यायाधीशको निष्पक्षतामाथि प्रश्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुरु भएको प्रारम्भिक बहस मोडिएर न्यायाधीशको निष्पक्षतामाथि केन्द्रित भएको छ । सर्वोच्चमा विघटित प्रतिनिधिसभाका १ सय ४६ सांसदले दर्ता गरेको निवेदनमा बहस गर्ने पालो आएपछि कानुन व्यवसायीहरूले इजलासमा बसेका न्यायाधीश बमकुमार श्रेष्ठसहित अरू दुई न्यायाधीशमाथि प्रश्न गरेका छन् ।

सवालजवाफ बढेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीमाथि समेत प्रश्न उठेको हो । केही कानुन व्यवसायीले सुनुवाइको निष्पक्षताका लागि प्रधानन्यायाधीश जबरालाई बिदामा बस्नसमेत सुझाव दिए । महान्यायाधिवक्ता रमेश बडालले भने कानुन व्यवसायीहरूको मागको प्रतिवाद गरे ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश जबरालाई बिदामा बसेर निकास दिन सुझाव दिएका थिए । अरू न्यायाधीशको विषयमा प्रश्न उठ्दा प्रधानन्यायाधीश जबराले आफ्नोबारेमा पनि के गर्ने भनेर सोधेपछि वरिष्ठ अधिवक्ता थापाले भने, ‘अन्य मुलुकमा पनि यस्तै अभ्यास छ, श्रीमान् बिदामा बसे भइहाल्यो ।’ अरू न्यायाधीश फेरबदल गरेर संवैधानिक इजलास गठन गर्न सकिए पनि संविधानमा नै संवैधानिक इजलासमा प्रधानन्यायाधीशको उपस्थितिलाई अनिवार्य गरिएको छ । थापाले अघिल्लो पटक आफूले प्रश्न राखेपछि हरिकृष्ण कार्की इजलासबाट हटेको भन्दै इजलासलाई निष्पक्ष देखाउन सुझाव दिए ।

अधिवक्ता टीकाराम भट्टराईले मुद्दाका पक्षधरले निष्पक्ष न्याय नपाउने महसुस गरे अलग हुनका लागि आग्रह गर्न पाउने बताए । वरिष्ठ अधिवक्ता हरिहर दाहालले पनि त्यही दाबी दोहोर्‍याए । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानन्यायाधीशको विकल्प नभए पनि अरू दुई न्यायाधीशको विकल्प रहेको बताए ।

सुनुवाइ सुरु हुनासाथ अधिवक्ता गोविन्द बन्दीले नेकपाको नाम दर्ताको विषयमा विवादास्पद फैसला गरेका न्यायाधीश श्रेष्ठको संलग्नतालाई लिएर तटस्थताको प्रश्न गरेका थिए । उनले न्यायाधीश तेजबहादुर केसीमाथि पनि त्यसैगरी प्रश्न उठाए । श्रेष्ठ र न्यायाधीश कुमार रेग्मीको इजलासले गत फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दल दर्ता विवादमा क्षेत्राधिकार बाहिर गएर नेकपा एकतापूर्वको अवस्थामा पुग्ने गरी फैसला गरेको थियो । उक्त फैसला गरेका न्यायाधीशहरू यो सुनुवाइबाट अलग हुनुपर्ने अधिवक्ता बन्दीको माग थियो । त्यही फैसलाविरुद्ध परेको निवेदनमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पुनरावलोकन नहुने भनी आदेश दिएको हो । अघिल्लो फैसला र त्यसमा पुनरावलोकन नहुने भन्ने आदेशले प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरलाई राजनीतिक रूपमा फाइदा भएको थियो ।

यही विषयलाई लिएर कानुन व्यवसायीहरूले आइतबार प्रश्न उठाएका हुन् । उनीहरूले प्रश्न उठाएपछि प्रधानन्यायाधीश जबराले बारम्बार उनीहरूको ध्यानाकर्षण गराएका थिए । ‘कानुन व्यवसायीले (न्यायाधीशलाई) बस्नुस् वा नबस्नुस् भन्न मिल्दैन,’ प्रधानन्यायाधीश जबराले भने, ‘पक्षले न्यायाधीश छान्ने होइन । सिद्धान्तमा बहस गर्नुहोस् ।’

नेकपाको विवादमा न्यायनिरूपण गरेको र त्यो फैसला विवादित भएको भन्दै अधिवक्ता बन्दीले श्रेष्ठ इजलासमा बस्न नहुने जिकिर गरे । अधिवक्ता बन्दीले भने, ‘दुई श्रीमानले यो सुनुवाइमा आफू नरहँदा अदालतको मर्यादा बढ्छ कि घट्छ, विचार गर्नुस् ।’ जवाफमा प्रधानन्यायाधीश जबराले उक्त फैसलाका बारेमा ठीकरबेठीक भन्न नहुने बताए । उनले लिखित निवेदन भए पेस गर्न आदेश दिए । उनले भने, ‘न्यायाधीशको कुरा लिखितमा दिनुहोस् । रेकर्डमा रहन्छ ।’ उनले त्यही विषयमा कति जनाले बहस गर्ने भनेरसमेत सोधे । प्रतिनिधिसभा विघटनको विवादमा त्यतिबेलाको फैसलाको कुनै सम्बन्ध नरहेको भन्दै उनले फैसलाको परिणामबारे बहस नगर्न आग्रह गरे ।

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले पनि यही विषय उठाए । प्रधानन्यायाधीश जबराले उनलाई नेकपा विघटन र प्रतिनिधिसभा विघटनका दुई फरक मुद्दाको सम्बन्धबारे प्रश्न गरे । जबराले भने, ‘यी दुई मुद्दाको सार्थक सम्बन्ध के हो ?’ त्यसपछि कार्कीले यसरी नै प्रश्न उठेको भए र आफू न्यायाधीश भएको भए मुद्दा नहेर्ने बताए । जबराले त्यो मुद्दाको पुनरावलोकन निवेदनमा आफू पनि जोडिएको आशय उल्लेख गर्दै आफू पनि इजलासमा रहेको बताए । जवाफमा कार्कीले त्यसबारे पनि विचार गर्न जबरालाई सुझाव दिए ।

संवैधानिक इजलासले निवेदकहरूको पक्षबाट कानुन व्यवसायीहरूको धारणा सुनेपछि सरकारी पक्षलाई पनि धारणा राख्ने मौका दिएको थियो । महान्यायाधिवक्ता रमेश बडालले न्यायाधीशहरूमाथि प्रश्न उठे त्यसपछि आफूहरूले पनि प्रश्न उठाउने ठाउँ रहने भन्दै त्यसपछि कसैले पनि सुनुवाइ गर्न नसक्ने परिस्थिति आउने चेतावनी दिए । उनले त्यसरी न्यायाधीश किटेर विरोध भए आफूहरूले पनि बाँकी न्यायाधीशले हेर्न मिल्दैन भन्ने दाबी गर्ने बताए । उनले यो विवाद बढ्दै गए रिट निवेदक र न्यायाधीशहरूबीच नाताको विषय प्रवेश हुने बताए । ठूलो संख्यामा रिट निवेदक र कानुन व्यवसायी भएकाले तिनीहरूको न्यायाधीशसँग कुनै न कुनै नाता पर्ने भएकाले आफूहरूले त्यो विषयवस्तु पनि खोज्ने चेतावनी दिए । आचारसंहिता अनुसार न्यायाधीशले आफ्ना नातेदार कानुन व्यवसायीले लिएको मुद्दा हेर्न मिल्दैन ।

महान्यायाधिवक्ता बडालले अहिलेको इजलासमा न्यायाधीशहरू परिवर्तन भए अरू न्यायाधीशहरूको इजलास अस्विकार्ने चेतावनी दिँदै आफूहरूले निवेदन नै दर्ता गर्ने बताए । अरू न्यायाधीशहरूले यसअघि कुनै न कुनै रूपमा सरकार वा प्रधानमन्त्री जोडिएको मुद्दा हेरेकाले इजलास परिवर्तन गरेर उनीहरूलाई राखिए आफूहरूले पनि विश्वसनीयताको प्रश्न उठाउने उनको भनाइ थियो । उनको भनाइलाई निवेदकका कतिपय कानुन व्यवसायीले भने न्यायालयमाथि कार्यपालिकाको प्रतिनिधिले घुमाउरो धम्की दिएको भन्दै आपत्ति प्रकट गरे ।

महान्यायाधिवक्ता बडालले प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराबीच भेट भएको भनेर सञ्चारमाध्यममा आएको र त्यो मिडिया ट्रायलको रणनीतिअन्तर्गत भएको आरोप समेत लगाए । रिट निवेदक रहेका विपक्षी दलका प्रमुख नेताहरूले अदालतलाई प्रभावित पार्न कुनै न कुनै गतिविधि गरिरहेको उल्लेख गर्दै उनले त्यसबाट स्वच्छ सुनुवाइमा असर पर्ने दाबी गरे । उनको प्रस्तुतिमाथि वरिष्ठ अधिवक्ता हरिहर दाहालले आपत्ति जनाए । सुरुवाती सुनुवाइमा रिट निवेदकहरूले मात्रै बोल्ने चलन हुन्छ । -आजको कान्तिपुर दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार