असार २६, २०८२ बिहिबार July 10, 2025

जसपा विवाद ढाँचा नपुर्‍याई पत्राचार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विभाजनको मुखमा पुगेको जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता कोसँग रहला भन्ने विषय राजनीतिक चर्चाको विषय बनेको छ। नेता–कार्यकर्ता पनि यसै विषयमा आआफ्ना तर्क अघि सारेर बहस गरिरहेका छन्।  महन्थ ठाकुर र उपेन्द्र यादव कित्तामा विभाजित जसपा यतिखेर विभाजनको मुखमा छ।

दुवै पक्षले आफू नै आधिकारिक जसपा भएको दाबी गरिरहेका छन्। निर्वाचन आयोगले बुधबार दुवै पक्षलाई चिठी लेखेर उनीहरूले आयोगमा पठाएको चिठी राजनीतिक दलसम्बन्धी ऐन, २०७४ को अनुसूची १८ बमोजिम ढाँचा नमिलेको जनाउ दिएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ठाकुर पक्षले आयोगमा पठाएको चिठीमा कार्यकारिणी समितिको निर्णयको प्रतिलिपिसमेत नराखेको बताए।

‘राजनीतिक दलसम्बन्धी ऐनअनुसार दुवै पक्षले आयोगलाई लेखेको चिठीको ढाँचा मिलेन। त्यसमा पनि ठाकुरले पठाएको चिठीमा केन्द्रीय समितिले गरेको निर्णयको प्रतिलिपिसमेत छैन’, श्रेष्ठले भने। दुवै पक्षले मंगलबार एकले अर्कोलाई पार्टीबाट निकालेको जानकारीसहितको पत्र आयोगलाई पठाएका थिए। आयोगले ढाँचा पूरा गरेर पत्राचार गर्न दुवै पक्षलाई आग्रह गरेको छ।

विवाद आयोगमा पुगेका बेला जसपाको दुवै पक्षले एकले अर्कोलाई विभिन्न आरोप लगाउँदै आफू नै आधिकारिक भएको र हुने दाबी गरिरहेका छन्। ‘पार्टी फुटेको होइन। रुखका बोक्रा झरेर गएको अवस्था हो,’ अध्यक्ष यादवले भने, ‘केही व्यक्तिलाई कारबाही गरिएको विषयलाई पार्टी फुटेको रूपमा बुझ्नु हुँदैन।’ ठाकुर पक्षका नेताहरू पनि पार्टी नफुटेको बताउँछन्। ‘पहिलो अध्यक्ष ठाकुरजी हुनुहुन्छ। जहाँ पहिलो अध्यक्ष हुन्छ, पार्टीको आधिकारिकता पनि उसैेसँग रहन्छ’, ठाकुर निकट नेता सुरेन्द्र झाले भने, ‘पार्टी फुटेको होइन।’

यादव पक्षले ठाकुर समूहका थप केही नेतालाई पार्टीको साधारण सदस्य नरहने गरी निकाल्ने तयारी गरेको छ। यसका लागि प्रमाण जुटाउने काम भइरहेको यादव पक्षका नेता इस्तियाक राईले बताए। ‘पार्टीलाई घात गर्नेमाथि कारबाही हुन्छ। यसका लागि प्रमाण संकलन गर्ने काम भइरहेको छ’, उनले भने, ‘पार्टीलाई नोक्सान पु¥याउन खोज्ने जो कोहीलाई पनि कारबाही हुन्छ।’ यादव पक्षले ठाकुर, राजेन्द्र महतो, सर्बेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निकालेको जानकारी निर्वाचन आयोगलाई गराएको छ। ठाकुरले भने यादवलाई मात्र पार्टीबाट निकालेको घोषणा गरेका छन्।

२०७७ वैशाख १० गते मध्यरातमा हतारहतारमा तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पाटीबीच एकीकरण भई जनता समाजवादी पार्टी बनेको हो। त्यसको दुई महिनापछि असारमा यससम्बन्धी औपचारिक जानकारी निर्वाचन आयोगलाई गराइएको थियो। आयोगमा बुझाइएको जसपाको विधानमा सकेसम्म सहमतिबाट निर्णय गर्ने, सहमतिबाट हुन नसके बहुमतबाट निर्णय गर्ने भनिएको छ। जसपाले आयोगमा ५१ सदस्यीय कार्यकारिणी समितिको सूची पठाएको छ। अहिलेसम्म कार्यकारिणी समितिमा यादव पक्ष बहुमतमा छ।

तर परिस्थिति फेरिएको ठाकुर निकट नेताहरू बताउँछन्। कार्यकारिणीमा यादव पक्षको बहुमत छ भन्ने दाबी यथार्थ नभएको ठाकुर निकट नेता प्रमोद साहले बताए। यही जेठ ८ गते यादव पक्षले बोलाएको कार्यकारिणी समितिको बैठकमा बहुमत सदस्य उपस्थिति थिए। उक्त बैठक ठाकुर पक्षले बहिष्कार गरेका थियो। एक नेताका अनुसार कार्यकारिणी समितिमा बहुमत जुटाउन ठाकुर पक्ष सक्रिय छ। सरकारमा जानुअघि नै बहुमत जुटाउन ठाकुर पक्षको प्रयास जारी छ।

बहुमत जुट्ने अवस्था नआए पार्टी फुटाउन सजिलो हुनेगरी अध्यादेश ल्याउन ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ। कार्यकारिणी समितिमा बहुमत नजुटे ठाकुर पक्षले पुरानो राष्ट्रिय जनता पार्टी ब्युँताउनेछ। यसका लागि ठाकुरले हृदयेश त्रिपाठीसँग पनि कुराकानी गरेका छन्। पुरानो राजपा ब्युँताउन असार महिनासम्म कुर्नुपर्छ। पार्टी एकीकरण भएको एक वर्ष नपुग्दासम्म पुरानो पार्टीको नाममा दर्ता गर्न नपाउने कानुनी व्यवस्था छ। असारमा कानुनी रुपमा दुई पार्टी एक भएको एक वर्ष पूरा हुन्छ। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया