असार २६, २०८२ बिहिबार July 10, 2025

जसपा ठाकुर-महतो पक्षः मन्त्री नपाउँदा असन्तुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सरकारमा गएपछि जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षभित्र असन्तुष्टि देखिएको छ ।  पूर्वराष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ सदस्यमध्ये एक राजकिशोर यादव सरकारमा जान पाएनन्। सोही अध्यक्ष मण्डलका अर्का एक सदस्य महेन्द्र यादव कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेका छन्। अध्यक्ष ठाकुरले पनि सरकारमा नजाने निर्णय गरे। बाँकी तीनजना राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिल झा सरकारमा सामेल भए। यस अर्थमा अध्यक्ष मण्डलमा रहेकामध्ये एक राजकिशोरले सरकारमा जाने इच्छा व्यक्त गर्दागर्दै पनि मौका पाएनन्।

सरकारमा जान नपाएपछि उनी निकै रुष्ट बनेको स्रोतको भनाइ छ। तथापि राजकिशोरनिकट जसपाका केन्द्रीय सदस्य राहुल यादवले भने तत्काल सरकारमा जाने चाहना उनले नदेखाएको बताए। ‘सर्वोच्च अदालतको निर्णयपछि सरकारमा जाऔं भन्ने उहाँ (राजकिशोर यादव) को अडान थियो तर नेता महतोलगायतले मान्नुभएन,’ राहुलले भने, ‘त्यसैले उहाँ आफ्नै खुसीले सरकारमा नजानुभएको हो।’

स्रोतका अनुसार ठाकुर–महतो पक्ष सरकारमा गएपछि राजकिशोर सम्पर्कमा छैनन्। उनले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया पनि व्यक्त गरेका छैनन्। सरकारमा सहभागी भएको भोलिपल्टै पूर्वराजपाको कार्यालय बबरमहलमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा पनि उनी उपस्थित भएनन्। उक्त कार्यक्रममा ठाकुर–महतो पक्षका अरू शीर्ष नेता भने सबै उपस्थित थिए।

ठाकुर–महतो पक्षका अर्का सांसद प्रमोद साह पनि सरकारमा सहभागी हुन नपाउँदा असन्तुष्ट छन्। ‘मलाई जनताले विश्वास गरे तर पार्टीका नेताहरूले भने विश्वासै गरेनन्,’ साहले भने, ‘प्रतिनिधिसभाको टिकट दिँदा पनि पूर्वराजपाले तीनवटा वडामात्रै जितेको ठाउँमा मलाई टिकट दिइयो, त्यो पनि मनोनयन दर्ता गर्ने अन्तिम मितिको अघिल्लो दिन राति १२ बजे मात्रै।’

आफ्नो निवास नभएको ठाउँमा आफूलाई टिकट दिइएको भन्दै उनले गुनासो गरे। ‘तैपनि मैले व्यक्तिगत लोकप्रियताबाट चुनाव जितें’, उनले भने। साह सर्लाही–१ बाट निर्वाचित प्र्रतिनिधिसभा सांसद हुन्। ठाकुर–महतो पक्षले गरेको कार्यक्रममा भने उनी उपस्थित भएका थिए तर केही पनि बोलेनन्।

मन्त्री हुन उपेन्द्र यादव पक्षका पाँचजना सांसद विमल श्रीवास्तव, उमाशंकर अरगरैया, रेणुका गुरुङ, रुही नाथ र कल्लुदेवी विश्वकर्मा ठाकुर–महतो कित्तामा पुगेका थिए। ठाकुर–महतो कित्ताबाट महतोलाई संसदीय दलको नेता चयन गर्ने माइन्युटिङमा उनीहरूले हस्ताक्षर पनि गरे। तर उनीहरू पाँच सांसदमध्ये रुही र कल्लुदेवीले मन्त्री हुने अवसर पाएनन्। उनीहरू पनि असन्तुष्ट रहेको स्रोतको भनाइ छ। जसपाबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरेका तीन सांसदमध्ये मृगेन्द्रसिंह यादव कित्ता परिवर्तन गरेर यादव पक्षमा पुगेका छन्।

राष्ट्रियसभामा ठाकुर–महतो पक्षका शेखर सिंह अहिले पार्टी जसरी पनि एक हुनुपर्छ भन्ने लाइनमा उभिएका छन्। यद्यपि महतोलाई दलको नेता चयन गर्न बोलाइएको बैठकमा भने उनी सहभागी भए। ‘मलाई राष्ट्रियसभामा सांसद बनाएको नाताले नैतिकताका आधारमा महतोजीलाई संसदीय दलको नेता चयन गर्न बोलाइएको बैठकमा सहभागी भएँ’, सिंहले भने, ‘तर त्यसपछि म सरासर सप्तरीमा आएर बसेको छु। त्यो बैठकपछि मैले केही बोलेको छैन।’ आफू जसपा कुनै पनि अवस्थामा विभाजन हुनुहुन्न भन्ने पक्षमा अडिग रहेको उनले बताए। ‘म सिंगो जसपाको पक्षमा छु,’ उनले भने, ‘पार्टी विभाजनको पक्षमा म कदापि उभिएको छैन।’

ठाकुर पक्षले सरकारमा जाने तयारी गरिरहेकै बेला सोही पक्षका तीन कार्यकारी सदस्य मृगेन्द्र सिंह, रामनरेश राय यादव र नवलकिशोर साह कित्ता परिवर्तन गरी यादव पक्षमा उभिएका थिए। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार