काठमाण्डौः जनता समाजवादी पार्टीको आधिकारिकता विवाद चर्केका बेला महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवकै सहमतिबाट जसपाको कार्यकारिणी समितिमा हेरफेर र पुनर्गठन गर्ने सम्पूर्ण अधिकार ठाकुरलाई दिएको निर्णयसम्बन्धी दस्तावेज निर्वाचन आयोगमा बुझाएको छ। ठाकुर पक्षले कार्यकारिणी समिति बैठकको निर्णयको प्रतिलिपि आयोगलाई बुझाएको हो।
नागरिकलाई उपलब्ध भएको कागजातअनुसार २०७७ पुस ७ गतेको कार्यकारिणी समिति बैठकको माइन्युटिङमा भनिएको छ, ‘केन्द्रीय कार्यकारिणी समितिको हेरफेर तथा पुनगर्ठन गर्ने अधिकार पार्टीको पहिलो वरीयताको अध्यक्ष महन्थ ठाकुरलाई प्रदान गर्ने निर्णय गरिएको छ।’
यसैगरी माइन्युटिङको २ नम्बर बुँदामा भनिएको छ, ‘बैठकबाट भएको निर्णय प्रमाणीकरण तथा पार्टीको आधिकारिक पत्राचारका लागि पहिलो वरीयताको अध्यक्षलाई दिने निर्णय गरिएको छ।’ बैठकको माइन्युटिङमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवसहित ३८ जना कार्यकारिणी समिति सदस्यको हस्ताक्षर छ।
जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले भने ठाकुर पक्षले जाली काम गरेको बताए। २०७७ पुस ७ गते कार्यकारिणी समितिको बैठक नबसेको र ठाकुरलाई कार्यकारिणी समिति फेरबदल गर्न अधिकार दिने सम्बन्धमा कुनै निर्णय नगरिएको यादवले बताए।
ठाकुर पक्षले निर्वाचन आयोगमा पठाएको अर्को कागजातमा कार्यकारिणी समिति हेरफेर गरेको जनाइएको छ। २०७८ जेठ ३ गते ठाकुरले उपेन्द्र यादव निकट २० जना कार्यकारिणी सदस्यलाई हटाई आफू निकटका २० जनालाई थप गरेका छन्।
उक्त सूचीमा संघीय परिषद्का अध्यक्ष डा. भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेता अशोक राईको नाम समावेश छ तर यादव निकटका अरू सबै नेताको नाम हटाइएको छ। यो कागजात ठाकुर पक्षले असार १ गते निर्वाचन आयोगमा बुझाएको हो।
कार्यकारिणी फेरबदल गरेको १ महिनाभित्र निर्वाचन आयोगमा बुझाउनुपर्ने व्यवस्थाअनुसार एक महिनाभित्रै आयोगमा बुझाइएको ठाकुर पक्षले जनाएको छ। नागरिक देनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया