काठमाण्डौः मौसममा देखिएको परिवर्तनसँगै जाजरकोटलगायत तीन जिल्लाको सञ्चार सेवा अवरुद्ध भएको छ । विगत एक सातादेखि लगातारको वर्षाका कारण मछाइनास्थित रिपिटर टावरको सोलार चार्ज नहुँदा जिल्लाको फोन सञ्चार सेवा अवरुद्ध भएको हो ।
जिल्लाभरि दर्जन बढी नेपाल टेलिकमका टावर सञ्चालनमा छन् । तर सबै टावरले दिनभर काम गरेको छैन । जिल्लाको मुख्य रिपीटर टावरमै विद्युत् नहुँदा जिल्लाभरि सञ्चार सेवा अवरुद्ध भएको छ ।
जिल्लाको मछाइनास्थित रिपीटर टावर भएर नै जिल्लाको छ स्थानीय तह, रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको रातामाटा र डोल्पाको कालिकास्थित टावरहरुमा सञ्चार हुने गर्छ । तर मुख्य टावर नै घामको भरमा सञ्चालन हुने भएपछि ती स्थानका सञ्चार अवरुद्ध भएको नेपाल टेलिकम जाजरकोटका प्रमुख गोपीन्द्र अधिकारीले बताउनुभयो । टावर भएको ठाउँमा घाम लागेमा मात्र टावर सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो ।
“मछाइनास्थित टावरमा यस क्षेत्रको मुख्य रिपीटरटावर हो । टावर सोलार सिस्टममार्फत चल्दै आएको छ । तर विगत एक सातादेखि घाम लाग्न छाडेपछि सोलारले काम गरेको छैन्”, उहाँले भन्नुभयो । टावर सञ्चालनका लागि स्थलमार्गबाट जेनेरेटर लग्ने प्रयास गरेपनि भेरी नगरपालिकाको पाखेदहमा बाटो भत्किएका कारण समस्या भएको उहाँको भनाइ छ । भत्किएको सडक मर्मतका लागि सम्बन्धित निकायको ध्यान नजाँदा जाजरकोटलगायत तीन जिल्ला सञ्चारविहीन भएको बताइएको छ ।
घामको विकल्प केही नभएपछि सञ्चार सेवा अवरुद्ध रहेको छ । टेलिफोन लाइन अवरुद्ध भएपछि सरकारी कामकाजसमेत प्रभावित भएको बताइएको छ । इमेल, इन्टरनेट र फोन गर्न पाइएको छैन । जिल्लाको अवस्था के छ भनेर भन्न सकिने अवस्था नरहेको स्थानीयवासी बताउँछन् । अहिलेको समयमा सञ्चार सेवा नै घामको भरमा चलेपछि कसरी कामकाज हुन्छ स्थानीय व्यवसायीको भनाइ छ । ।
सडक डिभिजन चौरजहारीको डोजरलाई सडक मर्मत गर्न आग्रह गरेपनि डिभिजन प्रमुख धु्रव झाले त्यहाँको बाटो मर्मत गर्ने काम आफ्नो नभएको बताउनुभयो । मछाइनास्थित टावरमा विद्युतीकरण नपुग्दा आकाशमा बादल देखिने वित्तिकै सञ्चार सेवामा समस्या हुँदै आएको छ ।रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया