असार ३२, २०८२ बुधबार July 16, 2025

सिरहाका १२ स्थानीय तहको बजेट पारित, पाँचको अझै भएन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सिरहाका १२ वटा स्थानीय तहले गाउँ तथा नगर सभामार्फत बजेट पारित गरेका छन् । पाँच स्थानीय तहको बजेट अन्योलमा परेको छ ।

यही असार १० गतेभित्र नगर तथा गाउँ सभामार्फत नीति तथा कार्यक्रम पारित गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण बिहीबार अन्तिम दिन सिरहाका पाँच नगरपालिका र एक गाउँपालिकाले एकै दिन सभामार्फत बजेट पारित गरेका छन् ।

जिल्लाको लहान नगरपालिका, धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका, सिरहा नगरपालिका र अर्नमा गाउँपालिकाले बिहीबार एकै दिन नगर तथा गाउँ सभामार्फत आव २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पारित गरेका हुन् । बजेट पारित गरेका अधिकांश स्थानीय तहले पुरानै योजनालाई निरन्तरता दिँदै सडक पूर्वाधार, कृषि र शिक्षालगायतका क्षेत्रलाई प्राथमिकता दिएका छन् ।

गोलबजार नगरपालिकाले रु ८१ करोड पाँच लाख ७५ हजार बराबरको बजेट पारित गरेको छ । सो नगरपालिकाले चालुतर्फ रु ४१ करोड २२ लाख ८८ हजार र पुँजीगततर्फ रु ३९ करोड ८१ लाख ७८ हजार बजेट विनियोजन गरेको नगर प्रवक्ता उमेश बरालले बताउनुभयो ।

नगरसभा सम्पन्न गरेको सिरहा नगरपालिकाले आव २०७८/७९ का लागि रु ७९ करोड ४० लाख १८ हजार बजेट विनियोजन गरेको छ भने सुखीपुर नगरपालिकाले रु ४९ करोड ३३ लाख ६५ हजारको बजेट पारित गरेको जनाएको छ ।

त्यस्तै मिर्चैया नगरपालिकाले रु ६८ करोड ४९ लाख ११ हजारको नीति, कार्यक्रम तथा बजेट पारित गरेको नगरप्रमुख श्रवणकुमार यादवले बताउनुभयो । जिल्लाको कल्याणपुर नगरपालिकासहित औरही गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, नरहा गाउँपालिका र विष्णुपुर गाउँपालिकाले भने अझै सभा गर्न नसकेको जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया