श्रावण १, २०८२ बिहिबार July 17, 2025

झापाका दुई गाउँपालिकाले नागरिककाे बिजुलीको बिल तिरिदिन रकम छुट्याए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन् ।

झापा गाउँपालिकाले २० युनिटभन्दा कम विद्युत् खपत गर्ने पालिकाभित्रका सबै नागरिकको शुल्क तिरिदिने अध्यक्ष जयनारायण साहले बताउनुभयो । त्यस विद्युत् शुल्क तिरिदिनका लागि पालिकाले नवौँ गाउँसभाबाट २० लाख रुपैयाँ बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले गर्भवतीलाई झापा जिल्लाभरिका अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने समेत बजेटमार्फत घोषणा गरेको छ । यसका लागि पालिकाले पाँच लाख रुपैयाँ रकम विनियोजन गरेको छ ।

यसैगरी कमल गाउँपालिकाले आउँदाे आर्थिक २०७८/०७९ को बजेटबाट कृषकहरुले सिँचाइमा खपत गरेको बिजुलीको बिल तिरिदिने भएको छ । फागुन, चैत, वैशाख र जेठ महिनामा खेती गर्दा सिँचाइमा लागेको चार महिनाको बिजुलीको बिलको ५० प्रतिशत रकम गाउँपालिकाले तिरिदिने गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो । आकाशे खेतीमा निर्भर किसान र व्यावसायिक खेतीमा लागेका आधुनिक कृषकलाई प्रोत्साहित गर्ने उद्देश्यले किसानको बिजुलीको बिल तिरिदिने गरी बजेट व्यवस्था गरिएको अध्यक्ष काफ्ले बताउनुभयो ।

झापा गाउँपालिकाले दीर्घरोगीमध्ये उच्च रक्तचाप र मधुमेहका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने भएको छ । त्यस औषधि खरिदका लागि पालिकाले १० लाख रुपैयाँ रकम विनियोजन गरेको छ । पालिकाले जन्म र मृत्यु संस्कार कार्यक्रमका लागि विगतमा दुई हजार रुपैयाँ सहयोग दिने गरेकोमा यस वर्ष वृद्धि गरी १० हजार रुपैयाँ प्रदान गर्ने गरी २० लाख रुपैयाँ रकम बजेटमा विनियोजन गरेको पालिकाका अध्यक्ष साहले बताउनुभयो ।

झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ४५ करोड ७४ लाख पाँच हजार ५०० रुपैयाँको बजेट पारित गरेको छ । त्यस्तै कमल गाउँपालिकाले आव २०७८/०७९ का लागि कुल रु ७१ करोड ५९ लाख ९३ हजार रुपैयाँको बजेट पारित गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया