वैशाख ३१, २०८१ सोमबार May 13, 2024

एमाले महाधिवेशन आयोजक कमिटी विघटन, खनाल नेपाल पक्ष अझै सशंकित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १०औं महाधिवेशन आयोजक कमिटी विघटन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बुधबारको बैठकले आयोजक कमिटी विघटन गर्ने स्थायी कमिटीको निर्णय अनुमोदन गरेको छ ।

एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार आयोजक कमिटी विघटन गरेर १८ असार (शुक्रबार) केन्द्रीय कमिटीको बैठक बस्दै छ । १०औं महाधिवेशन आयोजक कमिटी विघटन गरेपछि नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहितको केन्द्रीय कमिटी सक्रिय भएको छ ।

बैठकले आठ जना नेतालाई स्थायी कमिटीमा मनोनित गर्ने निर्णय गरेको छ । पूर्वमाओवादी केन्द्रतर्फका चार र एमालेका चार गरी आठ जना नेतालाई स्थायी कमिटीमा मनोनीत गरिएको हो । यी आठै जना नेता एमाले र माओवादी केन्द्रबीच एकता भएपछि स्थायी कमिटीमा रहेका थिए ।

खनाल नेपाल पक्ष अझै सशंकित

स्थायी कमिटीमा मनोनित हुनेमा माओवादी केन्द्रतर्फका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा र एमालेतर्फका रघुजी पन्त, रघुवीर महासेठ, डा. बेदुराम भुषाल र विष्णु रिमाल रहेका छन् ।

स्थायी समितिमा मनोनित महासेठ र रिमाल प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका हुन् । पन्त र भुसाल भने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हुन् ।

यस्तै, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाक्रीसहित ११ नेताहरूलाई गरिएको कारबाही स्वतः निष्क्रिय भएको प्रवक्ता ज्ञवालीले बताए । महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्च अदालतले मान्यता नदिएको र पार्टी एकताका लागि समेत आधार भइरहेकाले महाधिवेशन आयोजक कमिटी विघटन गरेर केन्द्रीय कमिटीलाई नै सक्रिय बनाइएको छ ।

मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई विघटन गर्ने निर्णय गरेको हो । वरिष्ठ नेता नेपाल समूहका साथै उपाध्यक्ष वामदेव गौतमले समेत आयोजक कमिटी विघटन गर्दै २ जेठ २०७५ मा फर्किनुपर्ने अडान लिँदै आइरहेका थिए । गत २३ फागुनमा सर्वोच्च अदालतले एमाले ब्यँताएपछि २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्व कायम हुनुपर्ने माग पार्टीभित्र भइरहेको थियो ।

ओली फेरि उल्टो बाटोमा हिँडे: शाक्य

एमाले अध्यक्ष केपी शर्मा ओली महाधिवेशन आयोजक कमिटी विघटन गर्दै केन्द्रीय कमिटी पूर्ववत् अवस्थामा फर्काउने निर्णय गरेपछि साझा धारणा बनाउन वरिष्ठ नेता नेपाल समूहको बैठक आज बिहीबार बस्दै छ ।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न आफ्नो समूहको बैठक बस्न लागेको बताइन् । उपाध्यक्ष शाक्यले अध्यक्ष ओली २ जेठमा फर्कने भनेर प्रचार गरे पनि व्यवहारमा त्यस्तो नदेखिएको टिप्पणी गरेकी छन् ।

एमाले बाग्मती प्रदेश इन्चार्जसमेत रहेकी शाक्यले पार्टी अध्यक्ष ओली फेरि उल्टो बाटो हिँडेको प्रतिक्रिया दिएकी छन् । एमालेको महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटी बैठक बोलाइएको र स्थायी कमिटी सदस्यहरू थप गरिएको निर्णयका सन्दर्भमा उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

‘मिलेर जाने भनेपछि केपी ओली र माधव नेपालबीच छलफल हुनुपथ्र्यो । २०७५ जेठ २ को स्थायी कमिटी बोलाएर केके गर्ने भन्ने छलफल गर्नुपथ्र्याे । त्यसलाई पारित गरेर केन्द्रीय कमिटी बैठक तय गर्नुपथ्र्यो । यो सुल्टो हुन्थ्यो । अवैध कमिटीबाट निर्णय गरेर उहाँबाट फेरि उल्टो काम भयो,’ शाक्यले भनिन् ।

ओलीले सर्वोच्च अदालतको आदेश नमानेर अवैध कमिटीको बैठक बोलाउनै नहुने बताइन् । एक पक्षीय ढंगले अघि बढेर ओलीले एकता भाँड्न खोजेको बताइन् । नेपाल समूहका नेता बेदुराम भुषालले जुन कमिटी आफंै अवैध छ । त्यसले गरेको निर्णय कुनै पनि अर्थमा वैध हुन नसक्ने बताए ।

नेपाल पक्षीय नेताहरू बैठकमा आउनुहुनेछ: पौडेल

नेकपा एमालेका नेता विष्णुप्रसाद पौडेलले आगामी केन्द्रीय कमिटीको बैठकमा माधवकुमार नेपाल पक्ष सहभागी हुने अपेक्षा गरेका छन् । उनले नेपाल पक्ष नआउनुपर्ने कुनै कारण नभएको बताएका छन् ।

एमालेले १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्दै एकता पूर्वको केन्द्रीय कमिटी ब्युँताएको भन्दै उनले शुक्रबारको बैठकमा नेपाल पक्षीय नेताहरू नआउनु अनुचित हुने पनि बताए ।

‘आजका मितिदेखि कारबाहीका प्रसंग सकियो, नेकपाभन्दा अघिको पदीय हैसियतका साथ बैठकमा सहभागी हुन आह्वान गरिसकेपछि बैठकमा नआउनु सर्वथा अनुचित कुरा हुन्छ । म आशा गर्छु उहाँहरू आउनुहुनेछ,’ उनले भने ।

आगामी दिनमा पार्टी, पार्टी निर्णयका आधारमा चल्ने सुनिश्चितता गर्न आगामी केन्द्रीय कमिटीको बैठक बस्न लागेको पौडेलले बताए । राजधानी दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया