काठमाडौंः हाइटीका राष्ट्रपति जोभेनल मोइजको हत्या गरिएको छ । हाइटीको राजधानीस्थित आफ्नै निबासमा बसिरहँदा राष्ट्रपतिमाथि आक्रमण गरिएको थियो ।
बीबीसीका अनुसार हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले पोर्ट औ प्रिन्सस्थित राष्ट्रपति निबासमा अज्ञात बन्दूकधारी समूहले स्थानीय समयअनुसार अपरान्ह एक बजे आक्रमण गरेको बताउनुभएको छ । प्रथम महिला मार्टिने मोइज समेत आक्रमणमा घाइते हुनुभएको छ ।
प्रधानमन्त्री जोसेफले घटनाको निन्दा गर्दै सर्वसधारणलाई धैर्यता राख्न आग्रह गर्नुभएको छ । ५३ वर्षीय जोभेनल मोइज सन् २०१७ को फेब्रुअरीदेखि सत्तामा हुनुहुन्थ्यो । मिकेल मार्टेली राजिनामा गरेपछि उहाँ राष्ट्रपति हुनुभएको थियो । राष्ट्रपतिको रुपमा सत्ता सम्हालेपछि उहाँमाथि भ्रष्टाचारको आरोप लागेको थियो । परिणामस्वरुप उहाँले सरकार बिरोधी प्रदर्शनको सामना गर्नुपरेको थियो । यसै वर्षको सुरुवातमा राजधानीसहित प्रमुख शहरहरुमा उहाँको राजिनामा माँग गर्दै सर्वसाधारणले प्रदर्शन गरेका थिए ।
हाइटीका प्रमुख प्रतिपक्षी दलले पाँच वर्षे कार्यकाल फेब्रुअरीमै सकिएकोले राष्ट्रपति मोइजले फेब्रुअरी २०२१ मै राजिनामा गरिसक्नुपर्ने भन्दै दबाब दिदै आएको थियो । तर राष्ट्रपति मोइजले भने आफू फेब्रुअरी २०१७ मा मात्रै कार्यकाल सम्हालेकोले अझै एक वर्ष कार्यकाल बाँकी रहेको तर्क गर्दै आउनुभएको थियो ।
राजनीतिक अस्थिरता, तानाशाही शासन र प्राकृतिक विपदले हाइटी अमेरिकी महादेशको एक अत्यन्तै विपन्न राष्ट्रको रुपमा चित्रित हुँदै आएको छ । सन् २०१० को भूकम्पमा हाइटीमा कम्तिमा दुई लाखभन्दा बढी ब्यक्तिले ज्यान गुमाएका थिए । भूकम्पले हाइटीको अर्थ ब्यवस्था र पूर्बाधार नराम्ररी ध्वस्त भएको थियो ।
हाइटीमा शान्ती स्थापनार्थ संयुक्त राष्ट्र संघको शान्ती मिसन सन् २००४ मा सुरु भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया