श्रावण १, २०८२ बिहिबार July 17, 2025

कामपाको बजेट पारितः ५० प्रतिशत बीमा शुल्क बेहोरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७८-०७९   का लागि प्रस्तावित बजेट सर्वसम्मतिले पारित भएको छ ।  कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अध्यक्षतामा आज बसेको नगरसभाको नवौँ अधिवेशनको छैटौँ बैठकले केही संशोधनसहित सर्वसम्मतिबाट बजेट पारित गरेको हो ।

यही असार १० गते बसेको नगरसभाको नवौँ अधिवेशनको चौथो बैठकमा कामपा प्रमुख शाक्यले आर्थिक विधेयक, २०७८’ र सोही  बैठकमा उपप्रमुख हरिप्रभा खड्गीले आव २०७८-७९ का लागि बजेट प्रस्ताव गरेकी थिइन् ।  कामपाले आगामी आवका लागि रू १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट प्रस्ताव गरेको थियो । आगामी आर्थिक वर्षमा महानगरवासीका लागि नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा ५० प्रतिशत बीमा शुल्क बेहोर्ने बजेटमा जनाइएको छ ।

यसैगरी ज्येष्ठ नागरिक विशिष्टीकृत सेवासहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न पनि बजेट विनियोजन गरिएको छ । त्यसैगरी कामपाले आर्थिक विधेयक, २०७८ मा कोभिड-१९ को प्रभावलाई ध्यानमा राखी करदाताबाट असूल हुन बाँकी रहेको आव २०७६-०७७ देखिको सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा छुट गर्ने भएको छ ।

सम्पत्ति करमा ९० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । कामपाका  होटल, रेष्टुरेन्ट, पसल जस्ता व्यवसायले आफ्नो प्रयोजनका लागि बनाएका शौचालयमा सर्वसाधारणका लागि समेत निःशुल्क सेवा उपलब्ध गराएमा व्यवसाय करमा ५० प्रतिशत छुट दिने पनि घोषणा गरिएको छ । कामपाको यही असार ६ गते नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो ।  चालु आवका लागि भने कामपाले रु १५ अर्ब ५० करोडको बजेट ल्याएको थियो ।   रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया