जेठ ६, २०८१ आइतबार May 19, 2024

नेकपा (एमाले) कार्यदलको बैठक सिंहदरवारमा शुरु- सहमतिपत्रमा हस्ताक्षर हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ दल नेकपा (एमाले) कार्यदलको बैठक सिंहदरवारमा शुरु भएको छ । अर्थ मन्त्रालयको कार्यकक्षमा केहीबेर अघि शुरु भएको बैठकमा कार्यदलमा रहेका सबै सदस्यहरुले सहमतिपत्रलाई अन्तिम रुप दिई त्यसमा हस्ताक्षर गर्ने तयारी रहेको नेताहरुले बताएका छन्  ।

पार्टीका अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालसँग आन्तरिक परामर्शपछि सहमतिको बुँदालाई अन्तिम रुप दिन कार्यदलका सदस्यहरु आईतबार बिहान साँढे नौ बजेदेखि बैठकमा जुटेका हुन् ।

कार्यदलका सदस्यहरुले सहमतिलाई हस्ताक्षरसहित अन्तिम रुप दिएपछि आज दिउँसोका लागि स्थायी कमिटी बैठक समेत बोलाउने तयारी एमालेले गरेको छ । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले आज दिउँसोका लागि स्थायी कमिटी बोलाउने तयारी भएको बताए । स्थायी कमिटी बैठकमा सहमतिका बुँदाबारे सामान्य व्रिफिङपछि अनुमोदन हुने नेता तामाङले जानकारी दिए ।

एमालेको १० सदस्यीय कार्यदलका सदस्यहरु पछिल्लो समय गत सातादेखि नै घनीभूत छलफलमा जुटिरहेका छन् । कार्यदलमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल सदस्य रहेका छन् । त्यसैगरी बरिष्ट नेता नेपालको तर्फबाट भीमबहादुर रावल, घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य रहेका छ्न् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया