जेठ ६, २०८१ आइतबार May 19, 2024

राष्ट्रियसभाबाट प्रधानमन्त्री चयन हुनुपर्ने बामदेवको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एमाले) का नेता वामदेव गौतमले राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री चयन हुने र बजेट प्रस्तुत गर्न सकिने संवैधानिक प्रबन्ध मिलाउन आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले सङ्घीय संसद्को एउटा महत्वपूर्ण अङ्ग राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री चुन्न र बजेट प्रस्तुत गर्ने व्यवस्थाका लागि सभाले प्रस्ताव पारित गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिँदै नेता गौतमले भन्नुभयो, “राष्ट्रियसभामा यदि हलले आवश्यकता ठान्छ र मैले भनेको प्रस्ताव मञ्जुर गर्छ भने हामी आज यो पास गरौँ, आगामी आर्थिक वर्षको बजेट वक्तव्य यहीँ आएर अर्थमन्त्रीले प्रस्तुत गर्नुस् । यहाँबाट छलफल गरेर पारित गर्न पाइयोस् ।”

संविधानमा प्रतिनिधिसभाको तुलनामा राष्ट्रियसभाको मानमर्यादामा कमी नरहेको र  यसमा सिङ्गो राष्ट्रको प्रतिनिधित्व रहेको उहाँले बताउनुभयो ।

 “अहिले प्रतिनिधिसभा छैन, सङ्घीय संसद्को अभिन्न अङ्गका रुपमा रहेको राष्ट्रियसभाले सदन बाहिर प्रस्तुत गरेको बजेटलाई किन मान्नुपर्ने ? यहीँ बजेट प्रस्तुत हुनुपर्छ”, उहाँले भन्नुभयो ।

पार्टीको घोषणापत्रअनुसार अघिल्ला तीन वर्षमा बजेट नआएको विचार राख्दै नेता गौतमले घोषणापत्रअनुसार चल्ने कि मनमौजी किसिमले अघि बढ्ने भनी प्रश्न गर्नुभयो ।

सामाजिक सुधार आफ्नो पार्टीको परम्परा र पहिचान भएको उल्लेख गर्दै उहाँले बजेटमा समाजवादको खाका नसमेटिएको टिप्पणीसमेत गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया