असार २८, २०८२ शनिबार July 12, 2025

अन्ततः लामो समयको रस्साकस्सीबीच सत्तारूढ दल नेकपा एमाले एकजुट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लामो समयको रस्साकस्सीबीच सत्तारूढ दल नेकपा एमाले एकजुट भएको छ । एमालेमा देखिएको समस्या समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट गठन गरिएको विवाद समाधान कार्यदलले आइतबार राति १० बुँदे सहमति गर्दै पार्टी एकजुट भएको सन्देश दिएको हो ।

सो कार्यदलले लामो समयदेखि पार्टीमा देखिएका विभिन्न खाले विवाद र विग्रहलाई अन्त गर्न गम्भीर छलफल र संवाद गर्दै आइरहेको थियो । कार्यदलमा ओली समूहबाट संयोजकमा सुवास नेम्वाङ, सदस्यमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका थिए भने नेपाल समूहबाट भीम रावल संयोजक र सदस्यमा घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त रहेका थिए ।

– ओली पक्ष र नेपाल पक्षबीच १० बुँदे ऐतिहासिक सहमति
– पार्टी एकजुट भएको सन्देश
– सबै अन्तरविरोधलाई पार्टीभित्रै समाधान गर्ने
– २०७५ जेठ २ अघिका सबै कमिटी क्रियाशील
– एमाले पुनर्जीवित भएपछिका सबै संगठनात्मक कार्य बदर
– सर्वोच्चमा विचाराधीन मुद्दाका सम्बन्धमा पार्टी एकताको मर्मअनुसार निर्णय गर्ने
– सरकारबारे संस्थागत निर्णय गरिने
– पार्टी एकता कार्यान्वयन गराउन कार्यदल गठन गरिने

आइतबार बसेको कार्यदलले पार्टीलाई सर्तसहित २ जेठ २०७५ अवस्थामा फर्काउने सहमति गरेको छ । आइतबार राति सिंहदरबारमा भएको कार्यदलस्तरीय सहमतिअनुसार ३ जेठ २०७५ मा माओवादी केन्द्रसँग एकता हुँदा थपिएका केन्द्रीय सदस्यहरू यथावत् रहनेछन् । सहमतिबारे जानकारी दिँदै एमालेका अध्यक्ष तथा कार्यदल संयोजक भीम रावलले एमालेमा देखिएको विवाद समाप्त भएको बताए । सहमति लगत्तै कार्यदल सदस्य तथा एमालेका सचिव प्रदीप ज्ञवालीले ओली र नेपाल पक्षबीचको कार्यदलले गरेको सहमतिको १० बँुदा वाचन गर्दै अब पार्टी एकजुट भएको जानकारी दिए ।

कार्यदलले गरेको सहमतिअनुसार सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र त्यसमा रहेको एमाले सांसदहरूको हस्ताक्षरबारे संस्थागत निर्णय गरिने उल्लेख गरिएको छ । सहमतिपत्रमा भनिएको छ, ‘सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णयअनुरूप हामी अगाडि बढ्नेछौं ।’

सहमतिमा माओवादी केन्द्रबाट आएका नेताहरूलाई साबिकको नेकपासरहको कमिटीमा राखिने सहमति भएको छ । कार्यदलले गत २३ फागुनमा एमाले र माओवादी केन्द्र दुवै तर्फबाट भएका पार्टीको विधान तथा एकतासँग मेल नखाने कुनै पनि राजनीतिक र संगठनात्मक कामकारबाही बदर भएको उल्लेख गरेको छ ।

विगत केही समययता पार्टीभित्र देखापरेका असहज र असामान्य अन्तरविरोधले गर्दा देशभरिका पार्टी कार्यकर्ता र समर्थक–शुभेच्छुकहरू चिन्तित रहेकाले एकता अपरिहार्य रहेको कार्यदलको निष्कर्ष छ ।

‘केही समययता पार्टीका आन्तरिक अन्तरविरोध पार्टीको दायराभन्दा बाहिर पुगेका छन् र कतिपय सन्दर्भमा कटुतापूर्ण तथा एकअर्काप्रति निषेधात्मक बन्दै गएका छन् । यस्ता अन्तरविरोध पार्टीभित्रै विधिसम्मत ढंगले समाधान गर्दै अघि बढ्न हामी सहमत भएका छौं,’ कार्यदलको बैठकपश्चात् जारी सहमतिपत्रमा उल्लेख गरिएको छ ।

‘पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरू नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्थाबमोजिम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन हुनुपूर्व २०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरू मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुनेछन्’ सहमतिपत्रमा भनिएको छ ।

यसैगरी, २३ फागुन २०७७ मा सर्वोच्च अदालतको फैसलाबाट नेकपा (एमाले) पुनर्जीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र संगठनात्मक काम कारबाही स्वतः बदर भएका छन् ।
पार्टीमा महŒवपूर्ण योगदान गरेका नेतालाई मौजुदा केन्द्रीय कमिटीको कुल सदस्य संख्याको १० प्रतिशतमा नबढ्ने गरी उक्त कमिटीमा मनोनित गरिने सहमति भएको छ ।

पार्टी तथा जनसंगठनहरू पूर्ववत् अवस्थामा क्रियाशील हुने क्रममा उत्पन्न हुन सक्ने समस्याको निराकरण गर्न र सदस्यता नवीकरण, महाधिवेशन तथा विभिन्न तहका अधिवेशनका सम्बन्धमा सुझाव दिन कार्यदल गठन गरिने सहमति भएको छ । निर्णयहरू आवश्यकताअनुसार अनुमोदनका लागि यथाशीघ्र विधान महधिवेशन आयोजना गरी प्रस्तुत गरिने कार्यदलले सहमति गरेको छ ।

‘पार्टी, संसदीय दल र जनसंगठनहरूलाई विधि र पद्धतिसम्मत किसिमले उच्च समझदारीका साथ सञ्चालन गर्दै एकता, क्रियाशीलता र मर्यादाको अभिवृद्धि गरिनेछ । यसका लागि एकताबद्ध भई आआफ्नो स्थानबाट सक्रियतापूर्वक योगदान गर्न समस्त पार्टी पंक्तिलाई आह्वान गरिएको छ,’ कार्यदलले गरेको सहमतिपत्रमा उल्लेख गरिएको छ ।

कार्यदलको सिफारिस कार्यान्वयनका लागि तत्काल पार्टी स्थायी कमिटीको बैठक आयोजना गर्न अध्यक्ष एवं महासचिवलाई कार्यदलले आग्रह गरेको छ । आइतबार दिनभरि छलफल गरेको कार्यदलले राति सहमति गरेको हो ।

ऐतिहासिक सहमतिहरू ः
१. केही समययता पार्टीका आन्तरिक अन्तरविरोध पार्टीको दायराभन्दा बाहिर पुगेका छन् र कतिपय सन्दर्भमा कटुतापूर्ण तथा एकअर्काप्रति निषेधात्मक बन्दै गएका छन् । यस्ता अन्तरोविरोधहरूलाई पार्टीभित्रै विधिसम्मत ढंगले समाधान गर्दै अघि बढ्न हामी सहमत भएका छांै ।

२. पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरू नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्थाबमोजिम नेकपा गठन हुनुपूर्व २०७५ साल जेठ २ गतेको (जेठ ३ गते कमिटीमा सदस्यहरू मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुनेछन् ।

३. २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले पुनर्जीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक संगठनात्मक कामकारबाही स्वतः बदर भएका छन् ।

४. २०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला पछि नेकपा एमालेमा रहने कमरेडको निर्णयलाई स्वागत गर्दै नेकपामा रहँदा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहनुभएकालाई सोही कमिटीको सदस्यको जिम्मेवारी निर्धारण गरिएको छ । अन्य कमरेडहरूलाई उहाँहरू नेकपामा रहँदासरहको कमिटीमा संगठित गरिनेछ ।

५. पार्टीमा महŒवपूर्ण योगदान गर्नुभएका कमरेडहरूलाई मौजुदा केन्द्रीय कमिटीको कुल सदस्य संख्याको १० प्रतिशत नबढ्ने गरी उक्त कमिटीमा मनोनित गरिनेछ ।

६. प्रतिनिधि सभाको विघठनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णयअनुसार अघि बढ्नेछौं ।

७. पार्टी तथा जनसंगठनहरू पूर्ववत् अवस्थामा क्रियाशील हुने क्रममा उत्पन्न हुन सक्ने समस्याको निराकरण गर्न र सदस्यता नवीकरण, महाधिवेशन तथा विभिन्न तहका अधिवेशनका सम्बन्धमा सुझाव दिन कार्यदल गठन गरिनेछ ।

८. यी निर्णयहरू आवश्यकताअनुसार अनुमोदनका लागि यथाशीघ्र विधान महाधिवेशन आयोजना गरी प्रस्तुत गरिनेछ ।

९. पार्टी संसदीय दल र जनसंगठनलाई विधि पद्धतिसम्मत किसिमले उच्च समझादारीका साथ सञ्चालन गर्दै एकता, क्रियाशीलता र मर्यादाको अभिवृद्धि गरिनेछ । यसका लागि एकताबद्ध भई आआफ्नो स्थानबाट सक्रियापूर्वक योगदान गर्न समस्त पार्टी पंक्तिलाई आह्वान गरिएको छ ।

१० कार्यदको सिफारिस कार्यान्वयनका लागि तत्काल पार्टी स्थायी कमिटीको बैठक आयोजना गर्न अध्यक्ष एवं महासचिवलाई अनुरोध गर्ने निर्णय गरिएको छ । राजधानी दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार