श्रावण ५, २०८२ सोमबार July 21, 2025

हस्तान्तरण अन्योलले प्रदेशकै ठूलो आयुर्वेद चिकित्सालय सञ्चालनमा विलम्ब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कमल गाउँपालिका–७ मा प्रदेशकै ठूलो पूर्वाधारयुक्त पूर्वाञ्चल आयुर्वेदिक चिकित्सालयको भवन बने पनि हस्तान्तरणको अन्योलले सञ्चालनमा विलम्ब भएको छ ।

दुई बिघा एक धुर क्षेत्रफलमा फैलिएको चिकित्सालयको ५० शय्याको अस्पताल भवन सङ्घीय सरकारको सहयोगमा रु २० करोड ५१ लाखको लागतमा हालै सम्पन्न भएको छ । यसलाई आयुर्वेद शिक्षामा आधारित प्रदेशकै एकमात्र मेडिकल कलेजका रूपमा विकास गर्ने सङ्घीय सरकारको योजना छ ।

गत असार २५ गते निर्माण कम्पनीले चिकित्सालयको भवन सघन शहरी विकास तथा भवन निर्माण कार्यालय झापालाई जिम्मा लगाइसकेको छ तर सङ्घीय कि प्रदेश सरकारलाई भवन हस्तान्तरण गर्ने भनेर उपल्लो सरकारी तहबाट कुनै निधो नआउँदा सञ्चालनमा ढिलाइ भएको हो ।

विसं २०७५ भदौ ७ गते निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सालयको शिलान्यास गर्नुभएको थियो । भवन तीन तलाको बनेको छ । हालसम्म सङ्घीय सरकारले प्रदेशलाई भवन हस्तान्तरण गरिनसकेको हुँदा उद्घाटनमा विलम्ब भएको हो ।

“चिकित्सालयको भवन निर्माण भइसक्यो”, सघन शहरी विकास तथा भवन निर्माण कार्यालय झापाका इञ्जिनीयर भूपेन्द्रकुमार यादवले भन्नुभयो, “अस्पताल सङ्घीय सरकार वा प्रदेश सरकार कसलाई बुझाउने भन्नेबारे अन्योल छ । माथिल्लो तहमा कुरा भइरहेको छ, सायद छिट्टै समाधान होला ।”

प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी सदानन्द भट्टराईले सो अस्पताल सङ्घीय सरकारबाट प्रदेश सरकारको मातहतमा ल्याउने तयारी भइरहेको बताउनुभयो । उहाँले प्रदेश मातहतमा अस्पताल आइसकेपछि सञ्चालनका लागि भनेर सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७८÷०७९ मा रु एक करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

“अस्पताल प्रदेशको मातहत नआइसकेकाले थोरै बजेट छुट्याइएको छ । प्रदेशलाई जिम्मेवारी आएसँगै जनशक्ति र पूर्वाधार थपेर चिकित्सालय सञ्चालन गरिनेछ”, उहाँले भन्नुभयो, “अर्को आवबाट कार्यालयले पर्याप्त बजेट छुट्याएर विशेष किसिमको सेवा शुरु गर्नेछ ।” कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले चिकित्सालयलाई प्रदेशस्तरीय आयूर्वेदिक अस्पतालका रूपमा सञ्चालनमा ल्याइने र आयुर्वेद चिकित्साशास्त्रको पढाइ हुने मेडिकल कलेज नै बनाउने योजना रहेको बताउनुभयो । आयुर्वेद मेडिकल कलेज बनाउने भनेरै अहिले भौतिक संरचना तयार पारिएको उहाँको भनाइ छ ।

“आम मानिसको आयुर्वेदिक उपचार पद्धतिप्रति विश्वास बढेको छ”, उहाँले भन्नुभयो, “तर जिल्लामा प्रायः कवि र वैद्यहरुबाट मात्र उपचार भइरहेको हुँदा विशेषज्ञ चिकित्सक उत्पादनका लागि मेडिकल कलेज आजको आवश्यकता हो ।” चिकित्सालयमा इमर्जेन्सी, ओपिडी, प्रसूति सेवा र आइसियु कक्षका लागि छुट्टाछुट्टै ब्लक बनाइएको छ भने योगाका लागि छुट्टै हलको व्यवस्था गरिएको छ । उहाँले आगामी भदौको पहिलो हप्ताबाट अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

सो भवनको निर्माणका लागि रविना खनाल जेभीले २०७५ साल असार ३१ गते ठेक्का पाएको थियो । दुई वर्षको अवधिमा निर्माण सक्ने सम्झौतामा उल्लेख भए पनि कोभिड–१९ को महामारीका कारण काम प्रभावित भएको भन्दै कम्पनीले थप नौ महिनामा भवनको निर्माण सम्पन्न गरेको थियो । -रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार