काठमाण्डौंः एमाले उपाध्यक्ष वामदेव गौतमले दोस्रोपटक एमाले परित्याग गरेका छन् । २४ वर्षअघि ०५४ मा एमाले विभाजनको नेतृत्व गरेका उपाध्यक्ष गौतमले दोस्रोपटक एमाले परित्याग गर्दै शुक्रबार पार्टी अध्यक्ष केपी ओलीलाई राजीनामा बुझाएका छन् ।
एमाले परित्यागलगत्तै गौतम माधवकुमार नेपाल नेतृत्वको नवगठित नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा छन् । नेकपा एसका अध्यक्ष नेपालले गौतमलाई वरिष्ठ उपाध्यक्ष बनाउने प्रस्ताव गरेका छन् ।
नेकपा एसमा सात उपाध्यक्ष प्रस्ताव गरिएको छ । नेकपा एसको राष्ट्रिय भेलाबाट सात उपाध्यक्ष रहने गरी विधान पारित भए वरिष्ठ उपाध्यक्ष र एक मात्र उपाध्यक्ष रहने विधान पारित भए उपाध्यक्ष मात्रै बनाउने समझदारी भएको स्रोतले जनाएको छ ।
बिहीबार नेपालसहित नेकपा एसका स्थायी समितिका नेताहरूसँग गौतमले लामो छलफल गरेका थिए । छलफल सकारात्मक बनेपछि गौतमले शुक्रबार पार्टी कार्यालय, थापाथली पुगेर केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङमार्फत अध्यक्ष ओलीलाई सम्बोधन गर्दै राजीनामा बुझाएका छन् । कार्यालय सचिव तामाङले गौतमले राजीनामा दिएको जानकारी दिँदै प्रक्रियामै रहेको बताए ।
राजीनामापत्रमा गौतमले अध्यक्ष ओलीकै गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन असमर्थ रहेको कारण खुलाउँदै केही आरोप लगाएका छन् । ‘म आफैँ संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईंकै गलत विचार, प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकाले आजको मितिमा पार्टीको उपाध्यक्षको पद र पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको छु,’ गौतमले ओलीलाई सम्बोधन गर्दै भनेका छन्, ‘फेरि पनि तपाईंसँगको चार दशक लामो मित्रताका कारण अबउप्रान्त पनि हामी दुईबीचको व्यक्तिगत सम्बन्ध मित्रतापूर्ण रहोस् भन्ने अपेक्षा छ ।’
त्यस्तै, गौतमले ओलीका कारण एमालेमा सामूहिक नेतृत्व प्रणाली समाप्त भएको र सुधार्ने प्रयाससमेत असफल भएकोसमेत प्रस्ट्याएका छन् । ‘तपाईं पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएपछि पार्टीको राजनीतिक कार्यदिशा, पार्टीको विधान तथा पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता र सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारीलाई पालना गर्नुभएन । पार्टीलाई लोकप्रिय बनाउन सरकार गठनको एक वर्षपछि मैले लिखित सुझाब दिएको थिएँ,’ राजीनामापत्रमा भनिएको छ, ‘तपाईंको कार्यशैली जनमुखी बनाउन धेरैपटक व्यक्तिगत रूपमा सुझाबहरू पनि थिए । तर, तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो ।’
गौतमले ओलीले आफ्ना समकक्षीलाई अपमान गर्नेदेखि पार्टीबाट निष्कासन गर्ने, राष्ट्रपतिलाई समेत दुरुपयोग गरेको आरोप लगाएका छन् । ‘आफ्ना समकक्षी कमरेडहरूलाई समेत तपाईंले अवलम्बन गर्नुभएका गलत नीति र विचारअनुसार नचल्दा एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्कासनसम्म गर्नेजस्ता स्वेच्छाचारी निरंकुश प्रवृत्ति र शैली अँगाल्नुभयो । त्यति मात्र होइन, तपाईंले सम्माननीय राष्ट्रपतिज्यूलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयन गर्न दुरुपयोग गर्नुभयो,’ राजीनामामा भनिएको छ ।
त्यस्तै, ओलीले जबजको सिद्धान्त पालना नगरेको गौतमको आरोप छ । ‘जनताको बहुदलीय जनवाद र जननेता मदन भण्डारीका विचार र मान्यता संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्तलाई परिपालन गर्नुभएन । जननेता मदन भण्डारीका नवीन सोच कम्युनिस्ट पार्टीले जनताको जनादेशका आधारमा राज्यसत्ता सञ्चालन गर्नुपर्छ भन्ने मान्यताका विपरीत जनताको अत्यधिक बहुमत झन्डै दुईतिहाइ जनताको जनादेशलाई लत्याउँदै पहिलोपटक ०७७ पुस ५ र दोस्रोपटक ०७८ जेठ ७ गते दुई–दुईपटक संविधानविपरीत जनताद्वारा निर्वाचित सदन भंग गर्नुभयो,’ गौतमले राजीनामामा भनेका छन् । नयाँपत्रिकाबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया