काठमाण्डौंः दैलेखमा १९ वर्षीया किशोरी नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित भएकी छन् ।
दैलेखस्थित कांग्रेसका स्वर्गीय नेता भुपेन्द्र महतकी छोरीसमेत रहेकी १९ वर्षीया स्वस्तिका महत दुल्लु नगरपालिका वडा नम्बर ३ मा सभापति निर्वाचित भएकी हुन् ।
सानै उमेरमा कांग्रेसको स्थानीय नेतृत्व सम्हालेपछि उनलाई आफन्त, इष्ट मित्र र कांग्रेसजनले बधाई दिइरहेका छन् ।
स्वस्तिकाका पिता एवम् कांग्रेस दैलेखका तत्कालीन उपसभापति भुपेन्द्रजंग महतको २०७६ कात्तिकमा डेंगु संक्रमणका कारण निधन भएको थियो ।
डेंगु भएपछि उनी उपचारका लागि भारतको दिल्लीस्थित एपोलो अस्पताल पुगेका थिए। भारतको मुम्बई भ्रमणका क्रममा बिरामी परेपछि दिल्लीमा उपचारका क्रममा उनको निधन भएको थियो ।
उनलाई सभापति बनाउन अन्य दाबेदारले पनि साथ दिएका थिए। कांग्रेसले पछिल्लो समय युवाहरुलाई नेतृत्वमा ल्याउने प्रयास गरिरहेको छ। नेतृत्वमा पाका नेताहरु भए पनि तल्लो तहमा विस्तारै युवाहरुको जमात बढिरहेको छ ।
युवाहरुलाई राजनीतिमा स्थान दिनुपर्छ भन्ने मान्यता राख्ने पार्टी भएकाले महत वडा सभापतिमा निर्विरोध निर्वाचित भएको कांग्रेस दैलेखका नेता तथा दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए। १९ वर्षीया किशोरी वडा सभापति बनेपछि विपक्षी दललेसमेत प्रशंसा गरेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया