काठमाडौंः प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई सत्ता गठबन्धन र प्रतिपक्ष दलहरूसँग छलफल गरेर मात्र अघि बढाउने निचोड निकालेका छन् । एमसीसी सम्झौताका सम्बन्धमा राजनीतिक दलहरूबीच नै एक मत नदेखिएपछि प्रधानमन्त्री देउवा नहतारिने निष्कर्षमा पुगेका हुन् ।
नेपालको चारदिने भ्रमणमा रहेकी एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले नेपाल आउनुअघि विवादित ११ बुँदाको जवाफ अर्थ मन्त्रालयलाई दिनुका साथै काठमाडौंमै उत्रिएर सत्तारूढ र प्रतिपक्ष दलका शीर्ष नेताहरूलाई भेटेरै प्रस्ट्याउने प्रयास गरे पनि सम्झौता अघि बढ्ने/नबढ्ने विषयमा अन्योल छ । अघिल्लो सातासम्म एमसीसी सम्झौतालाई जतिसक्दो छिटो संसद्बाट अनुमोदन गराउने पक्षमा रहेका प्रधानमन्त्री देउवा सत्ता गठबन्धन र प्रतिपक्ष दलहरूबाट आएका फरक–फरक विचारलाई ख्याल गर्दै एक्लै अघि नबढ्ने निर्णयमा पुगेको उनीनिकट स्रोतले जनाएको छ । ‘एमसीसी सम्झौतालाई कांग्रेस एक्लैले अघि बढाउँदा सत्ता गठबन्धन र पार्टीलाई समेत दीर्घकालीन रूपमा असर पर्न सक्ने आकलन गरेर अन्य राजनीतिक दलहरूसँग छलफल गरेर मात्र अघि बढ्ने निचोडमा प्रधानमन्त्री देउवा पुग्नुभएको हो,’ स्रोतले भन्यो ।
देउवाले शुक्रबार उपाध्यक्ष सुमारसँगको भेटवार्तामा पनि राजनीतिक दलहरूसँग छलफल गरेर मात्र अघि बढ्ने बताएका थिए । उनले शनिबार बिहान आफूनिकट केही व्यक्तिहरूसँग एमसीसी सम्झौताका विषयमा छलफल गरेका थिए । देउवा मन्त्रिपरिषद् विस्तारपछि मात्र एमसीसी सम्झौताका विषयमा दलहरूसँग छलफल गर्ने योजनामा रहेको स्रोतले जनाएको छ ।
सत्ता गठबन्धनका ५ दलमध्ये कांग्रेस एमसीसी सम्झौतालाई यसअघिदेखि नै संसद्बाट अनुमोदन गर्नुपर्ने पक्षमा छ तर माओवादी केन्द्रले राष्ट्रिय सहमतिका आधारमा अघि बढ्न चाहेको छ । सुमारसँगको भेटवार्तामा शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनमा समझदारी गरेर राष्ट्रिय सहमतिका आधारमा एमसीसी सम्झौतालाई अनुमोदन गर्ने धारणा राखेका थिए । सत्ता गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि दलहरूबीच छलफल गरेर निर्णयमा पुग्ने सन्देश उपाध्यक्ष सुमारलाई दिएका छन् ।
सत्ता गठबन्धनको अर्को दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी सम्झौताबाट सत्ता गठबन्धन र पार्टीभित्र छलफल गरेर मात्र निर्णयमा पुग्ने प्रस्ट पारेका थिए । सत्ता घटक राष्ट्रिय जनमोर्चाले भने एमसीसी सम्झौतालाई अघि बढाउन नहुने अडान राख्दै आएको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले शनिबार नेपालगन्जमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष सुमारलाई आफूले कुर्सी र सत्ताका लागि देशको सुरक्षामा आँच आउने कुनै पनि काम नगर्ने जानकारी दिएको बताएका थिए । सत्ता गठबन्धनबाटै साझा धारणा नबन्दा एमसीसी सम्झौता अघि बढाउन सकस भएको हो । कान्तिपुर दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया