असार २५, २०८२ बुधबार July 9, 2025

नमूना आवासीय विद्यालय बनाउने योजना अलपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नमूना आवासीय विद्यालय बनाउने योजना अलपत्र परेका छन् । गण्डकी प्रदेश सरकारले धवलागिरि गाउँपालिका–७ सिवाङमा रहेको हेम माध्यामिक विद्यालय र अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको शिख माविलाई नमूना आवासीय विद्यालयका लागि छनोट गरी पूर्वाधार निर्माण सुरुआत गरेको थियो ।

छनोटमा परेदेखि नै विद्यालयमा अस्थायी पूर्वाधारमा आवासीय सुविधासहितको पठनपाठन सुरु गरिएको भए पनि भवन निर्माण योजनाले पूर्णता नपाएपछि आवासीय विद्यालय कार्यक्रम नै प्रभावित बनेको छ । भवन निर्माणको आधा कामसमेत नभएको र यस वर्ष आवश्यक पर्ने बजेटमा समेत भारी कटौती भएको शिख माविका प्रधानध्यापक केदार कार्कीले जानकारी दिए ।

“गत वर्ष बजेट र ठेक्का प्रक्रियामा भएको ढिलाइले समयमै काम हुन सकेन, योजनाको म्याद थप नहुँदा विनियोजित बजेटको ठूलो हिस्सा फिर्ता भयो, यो वर्ष बजेटमा भारी कटौती भएपछि भवन निर्माण योजना अलपत्र पर्ने देखिएको छ, यसबारेमा गाउँपालिका र प्रदेश सरकारको समेत ध्यानाकर्षण गराइसकेका छौँ”, उनले भने ।

गत वर्ष रु दुई करोड बजेटबाट काम सुरु भए पनि २० प्रतिशत मात्रै काम भएको छ । पहिलो तला ढलान भएको छ । भवनको अन्य केही काम भएको छैन । निर्माणाधीन भवनको माथितर्फ संरक्षण नभएकाले पहिरो खस्ने जोखिमसमेत बढेको छ । पहिलो वर्ष प्रदेशको रु ६० लाख र गाउँपालिकाको रु ५० लाख बजेटबाट एउटा भवन निर्माण भएको छ ।

करिब रु नौ करोड लागत अनुमान रहेको यस योजनामा यस वर्ष १० लाखमात्रै बजेट विनियोजन भएको जानकारी आएकाले योजना नै अलपत्र पर्ने जोखिम बढेको विद्यालयले जनाएको छ । आवासीय विद्यालयको पूर्वाधार योजनाको बजेट कटौती भएपछि मन्त्रालयमा पत्राचार गरी ध्यानाकर्षण गराइएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।

पुरानो भवन भत्काएर नयाँ निर्माण सुरु भए पनि समयमै निर्माण नहुँदा आवासीयरूपमा बस्दै आएका विद्यार्थीलाई राख्ने ठाउँको अभाव हुने देखिएको छ । “गत वर्ष ३२ जनालाई आवासीय सुविधा दिएका थियौँ, यो वर्ष त्यो सङ्ख्या बढ्ने देखिन्छ, भौतिकरूपमा पठनपाठन सुरु भएपछि उनीहरुलाई कहाँ राख्ने रु अन्योलता सिर्जना भएको छ”, प्रअ कार्कीले भने ।

धवलागिरि–७ सिवाङमा रहेको हेम माविमा नमूना आवासीय विद्यालयका लागि पूर्वाधार निर्माण गर्न दुई वर्षदेखि सञ्चालन भएको क्रमागत योजनाको बजेटमा समेत भारी कटौती भएको छ । पहिलो वर्ष रु एक करोड र दोस्रो वर्ष रु दुई करोड बजेट विनियोजन भएर भवन निर्माणको काम भइरहेको अवस्थामा यस वर्ष रु १० लाखमात्रै बजेट आएकाले योजनालाई पूर्णता दिन अन्योलता सिर्जना भएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताए ।

“प्राविधिक लगतअनुसार भवनलाई पूर्णता दिएर आवासीय विद्यालयको पूर्वाधार सम्पन्न गर्न थप करिब रु दुई करोड बजेट आवश्यक पर्छ, प्रदेशले बजेटमा भारी कटौती गरेर बजेट पठाएको छ, पालिकाका आधा दर्जन योजनामा बजेट कटौती भएपछि मुख्यमन्त्री, अर्थमन्त्री र भौतिक पूर्वाधारमन्त्रीको ध्यानाकर्षण गराएका छौँ”, अध्यक्ष पुनले भने । यस विद्यालयमा समेत दुई वर्षदेखि अस्थायी भवनमा आवासीयरूपमा विद्यार्थी राखेर पढाउँदै आइएको छ ।

दुर्गम र घण्टौँ लगाएर हिँडेर आउने बालबालिकालाई आवासीय विद्यालयको अवधारणाले राहत मिले पनि भौतिक पूर्वाधार निर्माणले पूर्णता नपाउँदा समस्या सिर्जना भएको विद्यालयले जनाएका छन् । प्रदेश सरकारले भौगोलिकरूपमा विकटता भएका क्षेत्रमा सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउन र सहजरूपमा पठनपाठनको प्रबन्ध मिलाउन कक्षा ४ देखि १२ सम्मका बालबालिकालाई आवासीय सुविधाको व्यवस्था गर्न नमूना आवासीय कार्यक्रम सञ्चालन गरेको थियो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार