काठमाण्डौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तल्लो तहको अधिवेशन प्रक्रिया शुरु भइसकेको छ । ५७ जिल्लाको वडा अधिवेशन सम्पन्न गरिसकेको कांग्रेसको बाँकी २० जिल्लाको वडा अधिवेशन असोज ५ गते हुँदै छ । असोज ९ गते गाउँ-नगर अधिवेशन गर्न लागेको कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन र एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते हुँदै छ भने एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते हुँदै छ । कात्तिक १० देखि १२ गतेसम्म प्रदेश अधिवेशन गर्न लागेको कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुने कार्यतालिका छ ।
महाधिवेशन प्रक्रिया शुरू भएसँगै नेतृत्वका आकांक्षी नेताहरुले भने आफ्नो सम्पूर्ण ध्यान भने नेतृत्व निर्वाचित गर्ने प्रतिनिधितर्फ केन्द्रित गरेका छन् । तल्लो तहमा नेतृत्व हत्याउने रणनीतिमा लागेका नेताहरुको ध्यान वडाबाट आउने क्षेत्रीय प्रतिनिधितर्फ केन्द्रित छ भने केन्द्रीय तहमा नेतृत्व हत्याउने रणनीतिमा लागेका नेताहरुको ध्यान महाधिवेशन प्रतिनिधितर्फ केन्द्रित छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार यसपालि गाउँरनगर अधिवेशनमा पनि नेतृत्व चयन वडाबाट आएका क्षेत्रीय प्रतिनिधिले गर्ने गरी विधान संशोधन गरिएको छ । यसअघि क्रियाशील सदस्य सबै गाउँरनगर अधिवेशनका प्रतिनिधि हुने विधानमा व्यवस्था थियो । ७ सय ५३ स्थानीय तहमा असोज ९ गते एकैपटक अधिवेशन गर्ने तयारी गरेको निर्वाचन समितिले जनाएको छ । प्रत्येक वडामा १ सय ५० क्रियाशील सदस्य बराबर ९ जना र थप १ सय क्रियाशील सदस्य बराबर थप ६ जनाको दरले क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छन् । क्षेत्रीय प्रतिनिधि वडाबाट बढीमा ७५ जनासम्म निर्वाचित हुने व्यवस्था रहेको निर्वाचन समितिको भनाइ छ ।
कांग्रेसमा गाउँरनगर सभापतिलाई आगामी निर्वाचनमा गाउँपालिका अध्यक्ष एवं नगर प्रमुख उम्मेदवारको प्रमुख दाबेदारका रूपमा हेरिन्छ । जसले गर्दा पनि ७ सय ५३ वटै स्थानीय तहमा सभापतिको दाबेदार नेताहरुले वडामा आफ्नो पक्षको सभापतिसहित क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्न लागिपरेका हुन् । वडा सभापति पनि गाउँ-नगर अधिवेशनको प्रतिनिधि हुने व्यवस्था छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया