श्रावण १, २०८२ बिहिबार July 17, 2025

१४औं महाधिवेशनमाः गगन र विश्वप्रकाश कता ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः १३औं महाधिवेशनमा गगन थापा कृष्णप्रसाद सिटौला नेतृत्वको तेस्रो धारबाट महामन्त्रीका उम्मेदवार बनेका थिए । यसपटक भने उनले महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

‘तपाईं यसपटक कुन समूहबाट उम्मेदवार ?’ भन्ने प्रश्नमा थापाले भने, ‘म गत महाधिवेशनमा कृष्ण सिटौला दाइको समूहबाट मैदानमा थिएँ, यसपटक वरिष्ठ नेता रामचन्द्र पौडेल र सिटौला दाइ दुवैलाई एक ठाउँमा ल्याउने प्रयासमा अघि बढेको छु ।’

थापाले आफ्नै निर्वाचन क्षेत्र काठमाडौं ४ मा आयोजित कार्यक्रममा अग्रजमाझबाट उम्मेदवारी घोषणा गरेका थिए । त्यसयता उनी वरिष्ठ नेता पौडेल समूहले आयोजना गरेका कार्यक्रममा निरन्तर सहभागी हुँदै आइरहेका छन् । उनी पौडेल समूहले सभापतिका आकांक्षीहरूबीच एकता र सहमति हुने भनी १७ भदौमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिएको कार्यक्रममासमेत सहभागी बनेका थिए ।

यस्तै, हालका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि १४औं महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । उनले १०८औं बीपी जयन्तीका अवसरमा २४ भदौमा बीपी संग्राहलय सुन्दरीजलबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरेका शर्माले आफ्नो निकटता सभापति देउवासँग प्रस्ट रहेको तर महाधिवेशनका विषयमा भने आफूले उम्मेदवारी मात्रै घोषणा गरेको बताए ।

‘म १३औं महाधिवेशनमा पहिलो चरणबाट नै शेरबहादुर देउवासँगै थिए, अहिले पनि गुटगत हिसाबले कता निकट छु भन्ने प्रस्ट छ, मैले अहिले व्यक्तिगत रूपमा आफ्नो उम्मेदवारी घोषणा गरें, प्यानल बनाउने काम सभापतिको हो, महामन्त्रीको उम्मेदवारले होइन,’ शर्माले भने ।-राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया