काठमाण्डौः संविधान दिवस कसरी मनाउने भन्ने विषयमा मधेस दुई धारमा बाँडिएको छ। तर, ती दुवै धारले संविधान संशोधनको मुद्दालाई बेलाबखत उछाल्दै आएका छन्। संविधान दिवस मनाउने सन्दर्भमा दुई धारमा बाँडिए पनि दुवै पक्षले संविधानलाई आंशिक स्वीकार भने गरेका छन् ।
६ वर्षअघि संविधान घोषणा हुँदा तत्कालीन तराई/मधेस केन्द्रित दलहरूले संविधानको चर्को विरोध मात्र गरेनन्, संविधानको प्रतिलिपीसमेत जलाए। संविधान जारी भएको असोज ३ कालो दिनको संज्ञा दिए।
संविधान जारी भएको दिनदेखि नै मधेस केन्द्रित दलहरू आन्दोलित भए । संविधानको विरोधमा मधेसी मोर्चा बनाएर ती दलहरूले २०७२ साउन ३१ देखि आन्दोलन सुरु गरे। २०७२ माघ २५ सम्म जारी आन्दोलनमा ८८ जनाले ज्यान गुमाए भने करिब सयजना अंगभंगको अवस्थामा पुगे। सोही क्रममा ६ हजारको हाराहारीमा मधेसी नागरिक घाइते भए। आन्दोलनका क्रममा मधेस केन्द्रित दलहरूका करिब ५ सय कार्यकर्तामाथि मुद्दा चल्यो। तीमध्ये अहिले अधिकांश मुद्दा फिर्ता भइसकेका छन् भने केही फिर्ता हुने क्रममा छन्।
मधेसका आन्दोलनका क्रममा भएको क्षतिबारे छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा समिति गठन बनायो। सो समितिले सरकारलाई प्रतिवेदन बुझाए पनि अहिलेसम्म सार्वजनिक भएको छैन। सो प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग मधेस केन्द्रित दलहरूले जोडदार रूपमा उठाउँदै आएका छन्।
अहिले परिस्थिति फेरिएको छ। संविधान स्वीकार गर्दै मधेस केन्द्रित दल र नेताहरू संघीय र प्रदेश सरकारमा मात्र गएका छैनन्, यही संविधानलाई आत्मसात् गरेर स्थानीय, प्रदेश र प्रतिनिधिसभाका चुनावमा सहभागी पनि भएका छन्।
२०७४ सालको चुनावपछि पुनः केन्द्रीय सरकारमा जान तयार जनता समाजवादी पार्टी (जसपा) संविधान दिवसका दिन आइतबार मौन बस्ने भएको छ। केपी ओली सरकारमा सहभागी भएर पनि सर्वोच्चको आदेशबाट बाहिरिनुपरेको महन्थ ठाकुर नेतृत्वको अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले भने असोज ३ मा देशभर विरोध प्रदर्शन गर्ने भएका छन्।
‘हामीले यो संविधानलाई आंशिक स्वीकार गरेका छौं,’ जसपाका अध्यक्ष उपेन्द्र यादवले भने, ‘तर संविधानको स्वामित्व लिन सक्दैनौं। किनभने, गोली हानेर, मान्छे मारेर यो संविधान जारी गरिएको हो।’ संविधानलाई परिमार्जन गरेर संविधानमा देखिएका त्रुटिहरू सच्याउनुपर्ने उनको अडान छ। ‘संविधानलाई आंशिक स्वीकार गरेकाले संविधान दिवसको दिन न विरोध गर्छौ न दिवसका रूपमा मनाउँछौं। त्यस दिन चुप लागेर बस्छौं,’ उनले भने। नागरिक दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया