असार २९, २०८२ आइतबार July 13, 2025

संविधान दिवसलाई राष्ट्रिय एकता दिवसका रूपमा लिनुपर्छ: नेता सिटौला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान दिवसलाई राष्ट्रिय एकता दिवसका रूपमा लिनुपर्ने बताउनुभएको छ ।

सातौँ संविधान दिवसका अवसरमा गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले आज रत्नापार्कमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले संविधान राष्ट्रिय एकताको दस्तावेज भएकाले यसलाई राष्ट्रिय एकता दिवसका रूपमा लिनुपर्ने बताउनुभएको हो ।

पार्टीका पूर्वमहामन्त्री सिटौलाले संविधानको व्यवस्थामार्फत देशलाई वृहत्तर ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले बलियो राष्ट्र निर्माण गर्न सबै दलहरु एकआपसमा मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

सबैले देश र जनतालाई बलियो बनाउनेगरी काम गर्नुपर्ने उहाँको भनाइ थियो । नेता सिटौलाले संसद्, कार्यपालिका, न्यायपालिका र तीनै तहको सरकार एवं कर्मचारीलाई संविधान दिवसको शुभकामना दिनुभयो । कार्यक्रममा गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानका अध्यक्ष एवं काठमाडौँ क्षेत्र नं ६ का सांसद भीमसेनदास प्रधानले संविधानमार्फत राजनैतिक मुद्दा सकिएको जनाउँदै अब मुलुकमा आर्थिक विकास गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा नेपाली कांग्रेस काठमाडौँका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया