जेठ ६, २०८१ आइतबार May 19, 2024

काँग्रेसद्वारा थप तीन जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यको अन्तिम नामावली सार्वजनिक गरेको छ । पार्टीले मंगलबार राति धनुषा, सर्लाही र कैलालीका क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।

अब चार जिल्लाको मात्र क्रियाशील सदस्य नामावली सार्वजनिक गर्न बाँकी छ । कांग्रेसले यसअघि क्रियाशील सदस्यताको विवरण सार्वजनिक भएका जिल्लामा वडा अधिवेशन सम्पन्न गरी गत शनिबारदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ गरिसकेको छ ।

हालसम्म १२ जिल्लामा वडा अधिवेशन गर्न बाँकी रहेको र ती सबै जिल्लाका क्रियाशील सदस्यको सूची प्राप्त हुनासाथ एकै दिन वडा अधिवेशन प्रारम्भ गरिने उनले बताए । करिब ९ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् ।

कांग्रेसले क्रियाशील सदस्यताको बाँकी विवाद चाँडै टुंग्याएर दसैंअघिसम्म सबै जिल्लामा पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने र हिमाली जिल्लामा निर्धारित कार्यतालिकाअनुसार जिल्ला अधिवेशनसम्मका सबै अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

पार्टीले यसअघि नै गाउँ/नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते गर्ने निर्धारण गरेको थियो । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया