काठमाण्डौंः अछामका विभिन्न स्थानीय तहहरूले दसैँ र तिहारमा हुने विद्यालय बिदाको समय कम गर्ने निर्णय गरिरहेका छन् ।
कोरोना महामारीका कारण पठनपाठन अवरुद्ध भएको भन्दै विगतमा हुने बिदाको तुलनामा बिदा कटौती गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको पालिकाहरूले जनाएका छन् ।
जिल्लाका विभिन्न पालिकाहरूले गाउँ÷नगर कार्यपालिका तथा गाउँ÷नगर शिक्षा समितिबाट निर्णय गराई विद्यालय पठनपाठनको समय निर्धारण गरेका छन् ।
जिल्लाको कमलबजार नगरपालिकाले कोरोना महामारीपछि विद्यालय सञ्चालन गर्ने बेला नै दसैँमा ५ दिन र तिहारमा ४ दिन गरी ९ दिन मात्रै बिदा दिने निर्णय गरिसकेको छ भने अन्य पालिकाले पनि दसैँ तिहारमा विद्यालय कति बिदा दिने भन्ने निर्णय गरिरहेका छन् ।
जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाले असोज २१ गतेदेखि कात्तिक ३ गतेसम्म बिदा दिने निर्णय गरेको छ ।
दशैँको बेला असोज २१ गते घटस्थापनादेखि कात्तिक ३ गतेसम्म विद्यालय बिदा हुने र तिहारको बेला नेपाल सरकारको राजपत्रमा उल्लेखित बिदा बाहेक अन्य दिन बिदा नहुने निर्णय गरिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीले बताउनुभयो ।
असोज ११ गतेको गाउँ शिक्षा समितिको निर्णय अनुसार सबै विद्यालयलाई जानकारी गराइएको उहाँले बताउनुभयो । यस्तै जिल्लाको चौरपाटी चौरपाटी गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालय कात्तिक १ गतेसम्म मात्र बन्द हुने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षतामा बसेको बैठकले घटस्थापना देखि कात्तिक १ गतेसम्म मात्र विद्यालय बन्द गर्न विद्यालयलाई निर्देशन गरेको छ ।
यस अघिका वर्षमा घटस्थापनादेखि भाइटिकासम्म करिब १ महिना बिदा हुने गरिए पनि कोरोना भाइरस कोभिड १९ का कारण लामो समयसम्म विद्यालय बन्द भएकोले दसैँ दीपावलीको बीच समयमा पनि विद्यालय सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले कात्तिक २ गते देखि विद्यालय नियमित सञ्चालन गरिने भएकोले दसैँ लगतै विद्यालय फर्केर पठनपाठनलाई निरन्तरता दिन सम्पूर्ण शिक्षकलाई आग्रह गरेको छ ।
जिल्लाका अन्य स्थानीय तहले पनि शिक्षा समिति तथा कार्यपालिका बैठकबाट विद्यालयको हकमा दशैँतिहारको बिदाबारे निर्णय गर्ने तयारी थालेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया