असार २२, २०८२ आइतबार July 6, 2025

इन्स्पेक्टरकी छोरी हुँ भन्दै डीआईजीलाई चक्कु हान्न खोजेपछि…

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

शुक्रबार राति ९ बजे महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल (डीआईजी)सहितको टोली सडक अनुगमनमा थियो। टोलीमा काठमाडौं महानगरपालिका, मानवसेवा आश्रम, प्रहरी, पत्रकार र विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए।

काठमाडौंको कमलादीस्थित गणेशमन्दिर नजिक सडकछेउमा बन्दोबस्तीको ओढ्ने ओछ्याउनेसहित एक दम्पती सुत्ने तरखरमा थिए। चिसोका कारण खोकी लागेकाले श्रीमती औषधि खाँदै त श्रीमान् मदिरामा लठ्ठ भेटिए।

प्रहरी र अभियानकर्मीले उनीहरुलाई फकाउँदै सडकमा नबस्न अनुरोध गरे। महिला आश्रममा जान मानिनन्। उनले मोबाइल उठाउँदै कुनै एक व्यक्तिलाई फोन गरेजस्तो गरेर आफूलाई लैजान लागेको कुरा सुनाइन्। नमाने जसरी पनि लैजाने प्रहरीले अडान कसे। महिलाले भनिन्, ‘भोलि आफ्नै घर जान्छौँ, आज छाडी दिनुस्।’ यसरी उनले अनुरोध गरेको यो तेस्रो पटक थियो।

सहज रुपमा उठ्न नमानेपछि प्रहरी र अभियानकर्मीले उठाउने प्रयास गर्दागर्दै उनले सिरानबाट चक्कु निकालिन्। ‘म पनि इन्सपेक्टरको छोरी हुँ, ल आइज त मेरो नजिक, सबैलाई सिध्याउँछु, पुलिसलाई नि हान्छुु, उनी चक्कु ताक्दै घुम्न थालिन्। अश्लील शब्दसमेत प्रयोग गरिन्। सामुन्ने रहेका डीआईजी पोखरेल पनि छक्क परे। एकछिन त सबै अक्क न बक्क भए।
गाडीमा बसिसकेका श्रीमान्‌लाई फिर्ता ल्याई दिने शर्त राखेपछि उनले चक्कु थन्याइन्। अभियानकर्मीले चक्कु खोसेपछि बल्ल उनी आश्रम जान तयार भइन्। घर धादिङको नौबिसे बताउने दम्पती मन्दिरमा मागेर बस्ने गरेको निक्कै लामो समय भइसक्यो। स्थानीयका अनुसार यो दम्पती दिउँसोमा विभिन्न अश्लील बोल्दै मानिसलाई थर्काउने र हल्लाखल्ला गर्ने मध्येका प्रमुख हुन्।

शान्ति सुरक्षामै चुनौती हुने गरी बेलाबेलामा यस्ता हर्कत सडकमा हुने गरेका छन्। टेकुस्थित एक घरको सिँढीमा सुतिरहेका एक जमातलाई पनि राति नै उद्धार गरियो। स्थानीयका अनुसार उनीहरु भट्टीमा बसेर मदिरा पिउने अनि हरेक दिन चोकमा झैझगडा गर्दै आएका थिए। यहाँ महिला पुरुष एउटै गुँड बनाएर सुतिरहेका भेटिए।

सडकमा यसरी हतियार देखाएर तर्साउन खोज्ने कुटपिट गर्न खोज्ने, टोली देखेपछि भाग्नेहरु धेरै छन्। काठमाडौंको सडकमा असहाय र बेसहाराहरु न्यून रहे पनि यस्ता व्यक्तिहरु अत्यधिक रहेको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी बताउँछन्। अधिकांश पेशेवर मगन्ते, मदिरा खाएर पल्टिने र दिनभर मजदूरी गरेर राति सडकमा बस्नेहरु छन्। यस्ता व्यक्तिले भने कुनै न कुनै हर्कत देखाउने गरेका अर्का अभियानकर्मी सुमन बर्तौलाको अनुभव छ।

डीआर्इजी पोखरेल यस्ता गतिविधि रोक्न सुरु भएको अभियान सराहनीय रहेकाले कुन ठाउँमा कसरी प्रस्तुत हुनुपर्छ त्यसका लागि प्रहरी तयार रहेको बताए। कुनै मानवको लागि मानिस आफ्नो जीवन समर्पण गर्छ भन्ने कुरा महत्वपूर्ण भएको उल्लेख गर्दै प्रहरी नायब महानिरीक्षक पोखरेलले आश्रमका अभियानकर्मीलाई संकेत गर्दै भने, ‘मानव हुनुको अर्थ तपाईँहरुको सेवामा देख्छु म, एउटा मानव कति पीडा भोगिरहेको छ, उसलाई सार्थक जीवन दिन आफ्नो कष्ट भुलेर अभियान चलाउनुभएको छ।’ उनले मगन्तेको व्यवस्थापन र असहायको आँसु पुछ्ने पुनित कार्यको जति प्रशंसा गरेपनि नपुग्ने बताए।

शुक्रबार राति काठमाडौ्का सडकबाट मात्रै ३८ जनाको उद्धार भयो। सबै मदिरा खाएका र पेशेवर मगन्ते मात्रै थिए। कालीमाटीको सडकमा विगतमा बोरा ओछ्याएर लस्करै ४३ जना सुतेको भेटिएका थिए। उक्त अभियानका कारण शुक्रबारको रात त्यो सडक खाली थियो। विगतमा यत्रतत्र मानिस सुतिरहेका देखिने सडकक्षेत्र विस्तारै खाली देखिन थालेको अभियानमा सहभागी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए।

सडकमा बसेर नमाग्न प्रचार अभियान सुरु

सडकमा बसेकाहरुको उद्धार अभियानका कारण पछिल्लो समयमा राति सडकमा बस्नेहरु न्यून बन्दै गएका छन्। बेसहाराहरु भेटिएका छैनन्। तर, पेशेवर मगन्ते र मदिरा खाएर सडकमा बस्नेहरु अझै भेटिँदै छन्। उनीहरुलाई बालाजुस्थित अस्थायी आवास केन्द्रमा राखिएको छ। कतिपयको घर परिवार फेला पारेर बुझाउने गरिएको छ भने नभेटिएकालाई केन्द्रमा राखेर परामर्श दिने काम जारी छ।

अझै बिहान, दिउँसोमा सडक र मन्दिर छेउमा बसेर माग्नेहरु प्रशस्तै छन्। काठमाडौंमा त्यसलाई निरुतसाहित गर्न आजबाट माइकिङ गरेर उनीहरुलाई नबस्न अनुरोध गरिएको काठमाडौंको सडक मानवमुक्त अभियान कार्यान्वयन उपसमितिकी संयोजक गुजेश्वरी श्रेष्ठले बताए। आज यहाँको संकटा, भद्रकालीलगायत आसपासका मन्दिरमा पुगेर सबैलाई नबस्न अनुरोध गरिएको छ। पहिलो चरणमा आग्रह गरिने र त्यसपछि अटेर गर्नेलाई उठाउने तयारी महानगरको छ।

यही मंसिर २९ गते महानगरले काठमाडौंलाई सडक मानव मुक्त बनाउने अभियान घोषणा गरेको हो। आगामी तीन महिनासम्म उद्धार तथा व्यवस्थापन अभियान चलाउने योजनाअनुसार दुई हस्तादेखि कार्यक्रम जारी छ। अहिलेसम्म ३६० भन्दा बढीको उद्धार भइसकेको छ। कतिपयलाई परिवार खोजेर पठाइएको छ भने धेरै अझै केन्द्रमा छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार