काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा १० बुँदे सहमति कार्यान्वयन नभएपछि पुनः विवाद भएको छ । पार्टीभित्रको विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन भएको १० बुँदे सहमति पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन नगरेपछि विवाद चर्किँदै गएको हो ।
गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन नभएपछि एमालेभित्रको विवाद चर्किएको हो । पार्टी बैठकको एजेन्डा समेत १० बुँदे सहमति नबनेको र सार्वजनिक कार्यक्रममै अध्यक्ष ओलीले सो सहमति ‘अर्थहीन’ भएको टिप्पणी गरेपछि पार्टीभित्र असन्तुष्टि बढेको छ ।
बिहीबार र शुक्रबार एमाले स्थायी कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसे पनि विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयन गर्नेबारे छलफलको एजेन्डा नै बन्न सकेन ।
बैठकमा विधान महाधिवेशनको समीक्षा, ६ कात्तिकमा देशैभरिको वडा अधिवेशन, ९ कात्तिकमा हुने पालिका अधिवेशन, पार्टीको १०औं महाधिवेशन, हालै भएको अविरल वर्षाका कारण भएको जनधनको क्षतिसहित समसामयिक विषयबारे छलफल हुने एजेन्डा रहेको थियो ।
तेस्रो धारका नेताले १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने माग गर्दै आएका छन् । एमालेभित्र विवाद चर्किएका बेला तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका स्थायी कमिटीका १० सदस्य सोही सहमतिको कार्यान्वयन गर्ने प्रतिबद्धता ओलीले गरेपछि एमालेमै फर्किएका थिए ।
उपाध्यक्षत्रय भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्यलगायतका नेताले १० बुँदे सहमति कार्यान्वयनको माग गर्दै आएका छन् ।
१० बुँदे सहमति कार्यान्वयनका विषयमा अध्यक्ष ओली, तेस्रो धारका नेतासहित शीर्ष नेताका बीचमा पछिल्लो समय पटक पटक छलफल भएको छ । तर, अध्यक्ष ओलीसहित उनी पक्षीय नेताले सो सहमति कार्यान्वयन नगर्ने भनिसकेका छन् । सहमति कार्यान्वयन नहुँदा तेस्रो धारका नेता जिम्मेवारीविहीन भएका छन् । सार्वजनिक कार्यक्रममा समेत ओलीले १० बुँदे सहमति कार्यान्वयन नगर्ने उद्घोष गर्दै आएका छन् ।
रावलले ओलीको उक्त भनाइप्रति सार्वजनिक रूपमै असन्तुष्टि जनाउँदै पार्टीलाई एकताबद्ध बनाएर लैजाने हो भने सहमति कार्यान्वयनको विकल्प नभएको चेतावनी दिएका छन् । राजधानी दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया