असार २६, २०८२ बिहिबार July 10, 2025

विद्यार्थी खोज्दै विद्यालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोरोना भाइरस सङ्क्रमणका कारण कक्षामा नियमित रूपमा उपस्थित हुन नसकेका विद्यार्थीको कसरी खोजी गर्ने भन्ने नै अहिले सरोकारवालाको मुख्य समस्याको विषय बनेको छ । अनलाइन कक्षाका साथै भौतिक रूपमै पढाइ सुुरु भएपछि पनि कमै मात्र विद्यार्थी कक्षामा उपस्थित भएका छन् ।

उपत्यकाका धेरै सार्वजनिक विद्यालयमा ३० प्रतिशतको हाराहारीमा विद्यार्थी अनलाइन कक्षामा अनुपस्थित रहेपछि आफ्ना विद्यार्थीको खोजी कसरी गर्ने भन्नेमा अहिले धेरैलाई चिन्ताको विषय बन्न पुगेको छ । कक्षामा विशेष गरी छात्राहरू बढी नियमित पठनपाठनमा छुटेका कारण उनीहरूलाई कसरी पुनः कक्षाकोठामा भित्र्याउने भन्नेमा विद्यालयले चासो देखाउन थालेका छन् ।

राजधानीको जनकल्याण माध्यमिक विद्यालय बौद्धले आफ्ना पुराना विद्यार्थीमध्ये ७० प्रतिशत विद्यार्थी मात्र हाल अनलाइन कक्षामा आएपछि बाँकी विद्यार्थीलाई खोज्न शिक्षकलाई रिचार्ज कार्ड उपलब्ध गराएर फोन सम्पर्क गर्न थालेको छ । फोन सम्पर्क गरेपछि २०७७ सालमा कक्षाकोठाभन्दा बाहिर भएका कमजोर आर्थिक अवस्थाका विद्यार्थी २०७८ सालको नयाँ शैक्षिक सत्रमा भर्ना भएर पुस्तक लिएर गएको विद्यालयका प्रधानाध्यापक कुमारीकमला राई बताउनुहुन्छ ।

कोरोनाका कारण कति विद्यार्थी छुटे भन्ने यकिन विवरण भने भौतिक रूपमा कक्षा लाग्न थालेपछि मात्र थाहा हुने उहाँ बताउनुहुन्छ । विद्यालय खुलेपछि मात्र विद्यालयमा नआएका विद्यार्थीले कक्षा छोडेको, अन्य विद्यालयमा भर्ना भएको वा के कस्तो अवस्थामा छन् भन्ने कुरा पत्ता लाग्ने उहाँ बताउनुहन्छ । ललितपुरस्थित आदर्शशौउल माध्यमिक विद्यालयको प्राथमिक तहमा झन्डै २० प्रतिशतको हाराहारीमा विद्यार्थी अझै कक्षामा आउन सकेका छैनन् । विद्यालयले विद्यार्थीलाई पुरानो नम्बरमा फोन गरेर सम्पर्क प्रयास गरे पनि उनीहरूसँग सम्पर्क कायम हुन नसकेको विद्यालयका प्रअ सरोजभक्त आचार्य बताउनुहुन्छ ।

अब विद्यालय भौतिक रूपमा कक्षा सञ्चालन भइसकेका कारण तिहारसम्ममा सबै विद्यार्थी आउने विश्वास उहाँले व्यक्त गर्नुभयो । ती विद्यार्थीसँग सम्पर्क कायम नभएका कारण उनीहरूको शैक्षिक अवस्था के छ भन्ने कुरा भने यकिन भन्न नसकिने प्रअ आचार्य बताउनुहुन्छ ।

विद्यालय नै मुख्य जिम्मेवार

आफ्ना पुराना विद्यार्थी कहाँ पुगेका छन् भनेर खोजी गर्ने मुख्य जिम्मेवारी सम्बद्ध विद्यालयकै भएको सरोकारवाला व्यक्ति बताउँछन् । भर्नाका बेला विद्यार्थीको सबै अभिलेख विद्यालयमा राखिने भएकाले उनीहरू कक्षामा अनुपस्थित हुँदा त्यसको खोजी गर्ने मुख्य नैतिक जिम्मेवार निकाय नै विद्यालय भएको सम्बद्ध क्षेत्रका व्यक्तिको भनाइ छ ।

छात्रा धेरै प्रभावित

कोरोनाका कारण विद्यालयमा नियमित रूपमा पठनपाठनबाट प्रभावित हुनेमा गरिब तथा विपन्न वर्गका विद्यार्थी तथा छात्रा बढी रहेको जनाइएको छ । धेरैजसो सार्वजनिक विद्यालयमा कमजोर आर्थिक अवस्थाका विद्यार्थी अध्ययन गर्ने, अरूका घरमा बसेर अध्ययन गर्ने छात्रा बढी हुने र नियमित पठनपाठन अवरुद्ध भएपछि विवाह गरिदिने प्रवृत्तिका कारण छात्रा यसबाट बढी प्रभावित भएको हुन सक्ने नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी बताउनुहुन्छ ।

सरकारले कक्षा आठसम्म अनिवार्य शिक्षाको प्रतिबद्धता संविधानमार्फत नै जनाएको छ । यो अवस्थामा विद्यालय बाहिर गएका विद्यार्थीको खोजी गरेर कक्षाकोठामा ल्याउनुपर्ने उहाँ बताउनुहुन्छ । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. भगवान अर्याल सामाजिक सांस्कृतिक प्रचलन, छिटो बिहे गर्ने चलनका कारण पनि छात्रा कक्षाबाट बाहिर हुने अवस्था आएको बताउनुहुन्छ । नियमित पठनपाठन अवरुद्ध भएपछि विपन्न वर्गका छात्रछात्राको पठनपाठनमा नियमित गर्न समस्या देखिने उहाँ बताउनुहुन्छ ।

घरदैलो अभियान गरौं

छुटेका विद्यार्थीको खोजीका लागि सम्बद्ध विद्यालयले शिक्षक परिचालन गरेर घरदैलो अभियान सञ्चालन गर्नुपर्ने सुझाव शिक्षा क्षेत्रका जानकारको छ । सहप्राध्यापक डा. अर्याल कोरोनाको बेला पूरै विद्यालयको पठनपाठन ठप्प गरेर शिक्षकलाई कामविहीन बनाएका कारण अहिले विद्यार्थी कक्षाकोठा बाहिर रहने समस्या विकराल रूपमा आएको बताउनुहुन्छ ।

यो राज्यका लागि ठूलो समस्याको विषय बन्ने उहाँ बताउनुहुन्छ । नियमित कक्षा हुन नसकेको समयमा पनि शिक्षकलाई परिचालन गरेर आफ्ना विद्यार्थीको खोजी गर्न सकेको भए त्यसबाट विद्यार्थीको कक्षा छोड्ने दरमा धेरै कमी आउने विश्लेषण उहाँको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार