काठमाण्डौंः नेपाली कांग्रेसका जीवनबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा शाही मंगलबार मुख्यमन्त्री नियुक्त भएका हुन्। वैशाख २ गते भएको सहमति अनुसार माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिएका थिए।
कर्णाली प्रदेशसभामा रहेका ३५ सांसद मध्ये २१ सांसदले कांग्रेस नेता शाहीलाई मुख्यमन्त्री बनाउन भन्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए। संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाहीलाई पद तथा गोपनीयताको सपथ खुवाएका थिए। मुख्यमन्त्री नियुक्त भएलगत्तै शाहीले राति नौ बजेको समयमा पदभार ग्रहण गरेका थिए ।
को हुन् मुख्यमन्त्री शाही ?
अमेरिकाको एअरक्राफ्ट एभिएसन कम्पनीबाट पाइलट कोर्स सम्पन्न गरेर दुई वर्षसम्म जहाज चलाएका जीवनबहादुर शाही कर्णाली प्रदेशको दोस्रो मुख्यमन्त्री बनेका छन्। पाइलटको जागिर छोडेर पूर्णकालिन राजनीतिमा होमिएका शाही नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन्।
२०२१ साल फागुन २१ गते हुम्लाको खार्पुनाथ गाउँपालिकाको छिप्रामा मावली घरमा जन्मिएका शाही १६ वर्ष हुम्ला कांग्रेसको सभापति भए। त्यसयताका १६ वर्ष लगातार उनी कांग्रेस केन्द्रीय सदस्य छन्।
नेपाल विद्यार्थी संघको त्रि–चन्द्र क्याम्पस इकाई सदस्यबाट विद्यार्थी राजनीति सुरु गरेका शाहीले कर्णाली हित समितिको सहसचिव, नेपाली कांग्रेस हुम्लाको संस्थापक सभापति, ११ औं महाधिबेशनबाट लगातार केन्द्रीय सदस्य छन्। नेपालीसँगै अंग्रेजी, हिन्दी, स्पेनीस, जर्मनी र लामाखाम भाषामा पोख्त छन्।
नवनियुक्त मुख्यमन्त्री शाहीले अमेरिका, बेलायत, चीन, जापान, जर्मनी, अष्ट्रेलिया, थाइल्याण्ड, इटाली, भारत, स्पेन, नेदरल्याण्ड, फ्रान्स, इजरायल, टर्कीलगायत देशको भ्रमण गरेका छन्। मुख्यमन्त्री शाहीका श्रीमती बसन्तीकुमारी सिंह शाही र दुई छोरा तथा एक छोरी छन्।
छ वर्षको हुँदा बुढानिलकण्ठ स्कुल काठमाडौंमा अध्ययन गरेका शाहीले त्रिचन्द्र बहुमुखी क्याम्पसबाट आइएस्सी र त्रिभूवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा माष्टर डिग्री गरेका छन्। २०७४ सालको प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसबाट कर्णालीमा शाही मात्रै निर्वाचित भएका थिए। २०७३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन तथा खानेपानी तथा सरसफाई मन्त्री भएका शाही २०७० मा हुम्ला जिल्लाबाट नेपाली कांग्रेसकोतर्फबाट संविधानसभा सदस्य, २०७० देखि २०७४ सम्म संसदको विकास समिति सदस्य र कर्णाली विकास उपसमिति संयोजक, २०६४ मा संविधानसभा सदस्य, २०५५ मा नेपाली कांग्रेसको तर्फबाट जिल्ला विकास समिति हुम्लाको सभापति भएका थिए।
स्नोल्याण्ड एकीकृत विकास केन्द्र हुम्लाको संस्थापक अध्यक्ष भएका शाही सामुदायिक रेडियो कैलाश हुम्लाको संस्थापक अध्यक्ष हुन्। यस्तै शुभचिन्तक बचत तथा सहकारी संस्थाको संस्थापक, रेडक्रस सोसाइटी हुम्ला र रेयूकाई नेपाल हुम्लाको संस्थापक पनि हुन्। उनले १० वर्षसम्म मानसरोवर नमूना माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरेका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया