जेठ ७, २०८१ सोमबार May 20, 2024

नेकपाको जुँगा लडाइमा संसद बैठक १० दिन पर धकेलियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : सत्तासीन नेकपाले सभामुख चयन गर्न नसकेपछि संसद् फेरि बन्धक बनेको छ। सभामुख कसलाई बनाउने भन्ने विषयमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच रस्साकस्सी परेपछि संघीय संसद् बैठक १० दिनका लागि स्थगन गरिएको हो।

सभामुख कसलाई बनाउने भन्नेमा नेकपाभित्र तीव्र विवाद छ। पूर्वएमालेका नेताहरूको साथ पाएपछि अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीसँग पूर्वमाओवादीबाटै सभामुख पाउनुपर्ने अडान राखेका छन्। पूर्वएमालेका वरिष्ठ नेताहरूले पनि पूर्वमाओवादीले नै सभामुख पाउनुपर्ने दाहालको अडानमा साथ दिएको स्रोतले बतायो।

सभामुखका विषयमा मंगलबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र दाहालबीच बालुवाटारमा पहिलोपटक ‘व्यक्तिमा केन्द्रित’ भएर छलफल भएको थियो। दाहालले सभामुख पद पूर्वमाओवादीलाई नै दिनुपर्ने अडान राखेको उच्च स्रोतले बतायो। प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन प्रयास गरेका थिए। तर दाहालले ‘इन्कार’ गरेको स्रोतले बतायो।

‘राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष जस्ता महत्वपूर्ण सबै पद पूर्वएमालेले लिएका बेला सभामुख पनि पूर्वएमालेलाई दिँदा आत्मसमर्पण गरेको जस्तो हुन्छ,’ पूर्वमाओवादी सम्बद्ध नेकपाका एक स्थायी समिति सदस्यले भने, ‘पूर्वएमालेका वरिष्ठ नेता पनि यस विषयमा ‘कन्भिन्स’ हुनुहुन्छ। अध्यक्ष दाहाल सभामुख पद छोड्ने पक्षमा हुनुहुन्न।’सरकारमा समेत प्रधानमन्त्री र उपप्रधानमन्त्री पूर्वएमालेको भागमा रहेकाले पूर्वमाओवादीको तेस्रो स्थान मात्र रहेको ती सदस्यले बताए।

नेम्वाङका पक्षमा सचिवालयमा समेत बहुमत पुग्ने पूर्वमाओवादी नेताहरूको दाबी छ। ९ सदस्यीय सचिवालयमा पूर्वएमालेका झलनाथ खनाल, वामदेव गौतम र माधव नेपाल नेम्वाङका पक्षमा नरहेको स्रोतले बतायो। खनाल र गौतम प्रधानमन्त्री ओलीप्रति असन्तुष्ट छन्।

प्रधानमन्त्री ओली भने पार्टी एकता भइसकेकाले पूर्वमाओवादी वा पूर्वएमाले भनेर भागबण्डा गर्न नहुने पक्षमा रहेको उनी निकट नेताहरू बताउँछन्। अबको संसद् पेचिलो हुने भन्दै संविधान र कानुन जानेको, सरकार र अन्य दलसँग पनि समन्वय गर्न सक्ने भन्दै नेम्वाङलाई नै सभामुख बनाउनुपर्ने पक्षमा छन्। कृष्णबहादुर महराले राजीनामा दिएलगत्तै नेम्वाङले सभामुख पदका लागि आफू इच्छुक नभएको सार्वजनिक अभिव्यक्ति दिएका थिए। अध्यक्षद्वय ओली र दाहालले त्यतिबेला नेम्वाङलाई नै सभामुख बनाउने संकेत गर्दै सार्वजनिक अभिव्यक्ति नदिन निर्देशन दिएका थिए।

पछिल्ला दिनमा पार्टीका नेताहरुको चर्को दबाबपछि दाहाल पूर्व माओवादीबाटै सभामुख बनाउनुपर्ने पक्षमा छन्। दाहालले अडान राखेका कारण सभामुखमा सहमति नजुटेको स्रोतले बतायो। पूर्वमाओवादीबाट अग्नि सापकोटा, देव गुरुङ र पम्फा भुसालले दाबी गर्दै आएका छन्। सापकोटा दाहाल निकट हुन् भने गुरुङ र भुसाल रामबहादुर थापा निकट हुन्। ‘दुई मन्त्री पद पनि खाली छ,’ नेकपाका एक नेताले भने, ‘सभामुखमा असन्तुष्टलाई मन्त्री पद दिएर ‘म्यानेज’ गर्ने ठाउँ छ।’ अन्नपुर्ण पाेष्ट दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया