काठमाडौंः पत्रकार अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा नेपाल प्रेस युनियनका महासचिवसमेत रहेका शिवाकोटीले २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुने कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
शिवाकोटी दोलखा जिल्लाबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भइसकेका छन् । शिवाकोटीले दुई दशक भन्दा बढी समय सक्रिय पत्रकारितामा बिताएका छन् ।
उनी २०६२–६३ को जनआन्दोलनका क्रममा आन्दोलनको दृश्य सबै भन्दा पहिले कैद गर्न पुग्ने पत्रकारका रुपमा चिनिन्थे भने पछिल्लो समय तत्कालिन सभामुख कृष्णबहादुर महरा र गोगुल बाँस्कोटाको विषयको समाचार ब्रेक गरेपछि चर्चामा रहँदै आएका छन् ।
आफ्नो उम्मेदवारी घोषणा गर्दै शिवाकोटीले खुला, खसआर्य तथा भूगोल क्षेत्र मध्ये कुनै एक क्षेत्रबाट उम्मेदवारी दिने बताएका हुन् । उम्मेदवारी घोषणा गर्दै शिवाकोटीले पत्रकारिताको सक्रिय जीवनबाट अलग भएर राजनीतिमा होमिए पनि आफू सञ्चार उद्यमीका रुपमा भने सक्रिय रहिरहने बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया