काठमाडौंः वैदेशिक रोजगारीमा जानेको संख्या क्रमशः बढ्दै गएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत कात्तिक महिनामा झन्डै ५५ हजार जनाले श्रम स्वीकृति लिएका छन् । सो अवधिमा संस्थागत रूपमा विभिन्न म्यानपावर कम्पनीमार्फत २७ हजार ७ सय ९ जना नेपाली कामदारले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।
कात्तिकमा व्यक्तिगत प्रक्रियामार्फत विभिन्न देश जान १ हजार २ सय ६७ जनाले वैदेशिक रोजगारीको श्रम स्वीकृति लिएका छन् । सो अवधिमा वैधानिक माध्यमबाट १ हजार ४२ जना, पुनः श्रम स्वीकृतिमार्फत २४ हजार ९ सय ४७ जना गरी संस्थागत र व्यक्तिगततर्फबाट कुल ५४ हजार ९ सय १८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् ।
यो तथ्यांक अघिल्लो महिनाको भन्दा झन्डै दुई गुणा हो । अघिल्लो महिना गत असोजमा म्यानपावर कम्पनीमार्फत २६ हजार ९१ जना कामदारले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । उनीहरू पहिलोपटक वैदेशिक रोजगारीमा जान लागेका हुन् । त्यसमा महिला कामदारको संख्या २ हजार १ सय ८३ रहेकोे छ ।
विभागको प्रगति विवरणअनुसार कात्तिक महिनामा ६ सय ५ वटा म्यानपावर कम्पनीले वैदेशिक रोजगारीका लागि नेपाली कामदार पठाउन श्रम स्वीकृति निकालेका थिए । यसैगरी, अघिल्लो महिना गत असोजमा ५ सय ६८ म्यानपावरले वैदेशिक रोजगारमा कामदार पठाएका थिए । त्यसमध्ये सबैभन्दा बढी साउदी अरबमा १२ हजार ३ सय ३ जनाको श्रम स्वीकृति भएको थियो । असोजमा साउदी अरबका लागि १३ हजार ३ सय ४८ जनाको श्रम स्वीकृति भएको थियोे ।
साउदी अरबपछि अघिल्लो महिनाजस्तै कतार जानेको श्रम स्वीकृति भएको थियो । असोजमा कतारजाने ७ हजार ६ सय ८५ जनाले श्रम स्वीकृति लिएकोमा कात्तिकमा ८ हजार ४ सय ८० जनाको श्रम स्वीकृति भएको छ ।राजधानी दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया