श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कांग्रेस १४औं महाधिवेशन: प्रतिनिधिलाई १२ सयको खाना, ८ सयको कोठा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः  नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व चयनका लागि २४ मंसिरबाट काठमाडौंमा १४औं महाधिवेशन हुँदै छ । महाधिवेशनमा देश तथा विदेशबाट गरी ४ हजार ६ सय बढी प्रतिनिधि सहभागी हुनेछन् ।

महाधिवेशनमा ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रबाट प्रत्येक निर्वाचन क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि आउने छन् । यसैगरी, ती निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति, जिल्ला कार्यसमितिका सभापतिसहित, भ्रातृ एवं शुभेच्छुक संघसंस्थाबाट निर्वाचित प्रतिनिधिहरू पनि महाधिवेशन प्रतिनिधिका रूपमा आउनेछन् ।

यसैगरी, विदेशस्थित जनसम्पर्क समितिबाट पनि कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधि आउँदै छन् । विदेशबाट कति प्रतिनिधि आउँछन् भन्ने अझै तय भइसकेको छैन ।

कांग्रेसले महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई ठमेल, गौशाला र सुन्धारामा आवासको व्यवस्था गरेको छ । कांग्रेसको आवास तथा भोजन समितिका संयोजक सुरेन्द्र पाण्डेका अनुसार महाधिवेशन प्रतिनिधिहरूका लागि काठमाडौंमा ८६ वटा होटलमा ४ हजार ६ सय कोठा बुक गरिएको छ ।

महाधिवेशनमा खान र बस्नका लागि मात्रै ३ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान कांग्रेसको छ । महाधिवेशनमा आउनेहरूका लागि २३ देखि २७ गतेसम्म आवासको व्यवस्था गरिएको संयोजक पाण्डेले जानकारी दिए । ती होटलको एउटा कोठाको भाडा ८ सय रुपैयाँ पर्नेछ ।

यसैगरी, प्रतिनिधिहरूलाई महाधिवेशनस्थल भृकुटीमण्डपमा नै खानाको व्यवस्था गरिएको छ । कांग्रेसले एक छाक खानाको १२ सय रुपैयाँ छुट्याएको छ ।

भोजन उपसमितिको जिम्मेवारी पाएका कांग्रेस काठमाडौं महानगरका नेता प्रगतिमान रञ्जितले महाधिवेशन स्थलमा नै खानाको व्यवस्था गरिएको बताए ।

प्रतिनिधिलाई हरेक दिन बिहान ब्रेक फास्ट दिइनेछ । त्यसका लागि फरकफरक मेनु तोकिएको छ । मेनुमा स्यान्डवीच, जेरी–पुरी–तरकारी, अन्डासहितको ब्रेक फास्ट हुनेछ ।

यसैगरी, खाना दिउँसो र साँझ गरी दुई छाक व्यवस्थापन गरिएको छ । दुवै छाकको खानामा मासुको व्यवस्था छ । एक छाक खसीको मासु भए अर्को छाकमा कुखुराको मासु वा माछाको व्यवस्था गरिएको छ । कांग्रेसले बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्ड र वसुन्धारामा रहेको दियालो फुडल्यान्डलाई खानाको जिम्मा दिएको हो ।

खानामा दाल, सिजनअनुसारको तरकारी, साग, अचार, सलाद र भातको मेनु छ । अनुपम फुडल्यान्डका प्रमुख कृष्ण पौड्यालले महाधिवेशनमा दैनिक १० देखि १२ हजार व्यक्तिलाई खाना खुवाउने गरी कम्पनीका तर्फबाट आवश्यक व्यवस्थापन भइसकेको जानकारी दिए । उनका अनुसार २४ देखि २७ गतेसम्म खाना खुवाउने गरी व्यवस्था मिलाइएको छ । कांग्रेसको केन्द्रीय नेतृत्व चुन्दै १४औं महाधिवेशन २७ मंसिरमा सम्पन्न हुनेछ । – राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार