असार २१, २०८२ शनिबार July 5, 2025

एपीएफ र प्रहरी सेमिफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

होङ्गान्जी न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा विभागीय डर्बिमा सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लब भिड्ने भएका छन्।

तीन विभागीय र आयोजक न्यु डायमण्ड स्पोर्टस क्लब सेमिफाइनलमा पुगेसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। प्रतियोगिताको दोस्रो सेमिफाइनलमा न्यु डायमण्ड र अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। बालाजु बसपार्क नजिक भएको बिहीबार भएको समूह ‘ए’ को अन्तिम खेलमा आर्मीलाई हराउँदै एपीएफ समूह विजेता बनेको हो।

एपीएफले आर्मीलाई २५–२१,२५–१२ र २५–२१ को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। एपीएफले समूह चरणका सबै तीन खेल जितेको थियो। आर्मीले भने एपीएफ बाहेक दुई टोलीलाई हराएको थियो।

अब समूह एको विजेता एपीएफले बीको उपविजेता पुलिस तथा समूह ए को उपविजेता आर्मीले आयोजक न्यु डायमण्डको सामना गर्नेछ। दुवै सेमिफाइनल शनिबार हुनेछ। बिहीबार नै भएका अन्य खेलमा पारामाउन्ट बोर्डिङ स्कुललाई २५–१८,२५–५ र २५–९ ले हराएपछि एपीएफ र आर्मी अन्तिम खेलअघि नै सेमिफाइनल पुगेका थिए।

आजै भएको समूह बीको खेलमा पुलिसलाई २५–१९,२५–२३,१७–२५,१६–२५ र १५ –६ ले हराउँदै न्यु डायमण्ड समूह विजेता बनेको थियो।

मुख्य प्रायोजक होङ्गान्जी बौद्ध समाज नेपाल रहेको प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ। तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया