काठमाडौंः नेपाली काँग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ ।
केन्द्रीय निर्वाचन समितिले १४ औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतपरिणाम सार्वजनिक गर्दै थापा र शर्मा विजयी भएको जानकारी गराएको हो । गगन थापा तीन हजार २३ मत र विश्वप्रकाश शर्मा १९ सय ८४ मत ल्याएर विजयी हुनुभएको हो ।
को हुन विश्वप्रकाश शर्माः
युवा नेता विश्वप्रकाश शर्माको जन्म विस ६ पुस २०२७ सालमा झापाको शान्तिनगरमा भएको हो । बुवा परशुराम भण्डारी र आमा सावित्रा भण्डारीका छोरा शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनका एक छोरा र एक छोरी छन् ।
२०३७ सालमा झापामा विद्यालय पढ्दादेखि नै राजनीतिमा लागेका शर्मा नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको महामन्त्री र अध्यक्ष भइसकेका छन् । सिर्जनशील युवा नेता शर्मा राजनीतिक विश्लेषक एवं साहित्यकारका रुपमा पनि परिचित हुनुहुन्छ ।
१३औं महाधिवेशनबाट केन्द्रीय सदस्यका साथै पार्टीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका शर्मा १४औ महाधिवेशनमा पार्टीको कार्यकारी पद महामन्त्रीमा निर्वाचित भएका हुन् ।
अघिल्लो आम चुनावमा झापा क्षेत्र नम्बर १ बाट राम कार्कीसँग पराजित भएका थिए । संसदीय प्रतिस्पर्धामा पराजित शर्मा पार्टी प्रतिस्पर्धामा भने सफल भएका छन् ।
युवा प्रतिनिधिको लोकप्रिय मत उनले पाएका छन् । ‘बदलिएको कांग्रेस, बलियो कांग्रेस’को नारा उनले दिएका थिए । पार्टी प्रवक्ता बनाए पनि कृष्ण सिटौलासँगको सहकार्यले शेरबहादुर देउवाले टिकट नदिँदा शर्मा प्रकाशमान सिंह टिमबाट प्रतिस्पर्धामा होमिएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया