काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको संविधान, सङ्घीयता, गणतन्त्र र परिवर्तनको पक्षमा एमाले नरहेको जिकीर गर्नुभएको छ । समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले जनादेशको भावना, अदालतको मर्यादा, विधिविधानलाई एमालेले उल्लङ्घन गरी संसद्लाई अगाडि बढ्न नदिएको बताउनुभयो ।
देश विकासका लागि मुलुकमा रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै उहाँले आफ्नो पार्टीले प्रतिभाशाली मेहनती बौद्धिक, बुद्धिजीवी व्यक्तिको आविष्कार गर्न चाहेको उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले आफ्नो पार्टीले अवलम्बन गरेका आदर्शका कारण अहिले पूर्वमेचीदेखि पश्चिम महकालीसम्मका पार्टीप्रति जनताको आकर्षण बढेको र पार्टी प्रवेशमा जनलहर देखा परेको प्रष्ट पार्नुभयो ।
वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुलुकको आवश्यकताअनुसार शिक्षा क्षेत्रमा विकास गरी दक्षजनशक्तिलाई उत्पादनमा जोड्नुपर्ने बताउनुभयो । पार्टीका नेता मुकुन्द न्यौपानेले शिक्षालाई व्यापारीकरण गर्न राजनीतिज्ञले पनि निजी क्षेत्रमा लगानी गरेको उल्लेख गर्दै खराब मनाशयबाट यस क्षेत्रमा हुने राजनीतिलाई न्यूनीकरण गर्न उनीहरूका संलग्नतालाई रोक्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
पार्टीका पोलिटब्यूरो सदस्य दीलुकुमारी पन्तले संविधानको मौलिक हकमा शिक्षाको अधिकार प्रत्याभूत गरिएको भए पनि सर्वसुलभ गुणस्तरीय शिक्षा प्राप्ति आम नागरिकको पहुँचमा पुग्न नसकेकाले सरकार संवेदनशील हुनुपर्ने बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया