असार २३, २०८२ सोमबार July 7, 2025

एकीकृत समाजवादी पार्टी कम्युनिष्ट मूलधारको पार्टी भएको छ : अध्यक्ष नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट मूलधारको पार्टी भएको बताउनुभएको छ ।

समाजवादी अपाङ्ग सङ्गठनको कार्यसमिति घोषणा कार्यक्रममा उहाँले माले, जनताको बहुदलीय जनवादको सिद्धान्त पार्टीले अवलम्बन गरेको जनाउँदै समाजमा न्याय, समानता र समावेशीको सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले न्याय सबैका लागि बराबर हुनुपर्नेमा जोड दिँदै असमान व्यवहार कसैलाई पनि गर्न नपाइने र समाजका सबै तहमा समावशी प्रतिनिधित्व गराउन संविधानमा व्यवस्था गरिएको उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले अशक्त वर्गलाई जीविकोपार्जनका लागि राज्यले व्यवस्था गर्नुपर्ने र केही पनि गर्न नसक्नेलाई हेरचाह गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “मेचीदेखि महाकालीसम्म आफ्नो पार्टी प्रकाशपुञ्जका रूपमा फैलिएको छ, जनताको सेवासुविधामा क्रियाशील रहेर समाज परिवर्तन गर्न सकिन्छ ।” मानवीयताको चरित्र कम्युनिष्ट विचारमा आबद्ध सबैले राख्नुपर्ने धारणा राख्दै उहाँले पवित्र भावना लिएर पार्टीमा आबद्ध हुन सबैलाई आग्रह गर्नुभयो ।

पार्टीको अपाङ्गता फाँटका इन्चार्ज वीरेन्द्रराज पोखरेल, अनुशासन आयोगका सदस्य बालकृष्ण गैरेले अपाङ्गता अधिकारका साथै उनीहरुलाई सवलीकरण गर्ने सम्बन्धमा धारणा राख्नुभयो । सबै प्रदेशबाट प्रतिनिधित्व हुने गरी रामप्रसाद ढुङ्गानाको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया