काठमाण्डौः शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई हराएकाे छ ।
त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आज बुधवार भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई दुई–एक गोल अन्तरले हराएकाे हाे । पुलिसको जितमा रविशङ्कर पासवानले दुवै गाेल गरे । च्यासलका लागि भने मौसा अबागानाले एक गोल फर्काए ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पासवानले खेलकाे ३७ औँ मिनेटमा गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाए । उनले नीरकुमार राईले उपलब्ध गराएको बलमा गोल गरेका हुन् । खेलको ५२ औँ मिनेटमा च्यासलका मौसाले पेनाल्टीमा गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । पुलिसका कप्तान सुमन सुवेदीले खेलको ५१ औँ मिनेटमा रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टी पाएको थियो ।
याे जितसँगै पुलिसले नौ खेलमा १० अङ्क जोडेको छ । पुलिस अङ्क तालिकाको दशौँ स्थानमा उक्लिएको छ । समान नौ खेल नै खेलको च्यासल पाँच अङ्कसहित तालिकाको १३ औँ स्थानमा रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया