काठमाडौंः सभामुख अग्नितप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सकिएको छ। सिंहदरबारमा बसेको सर्वदलीय बैठक करिब ४ घण्टासम्म चलेको जानकारी सभामुख सापकोटाले दिएका छन्।
सापकोटाले आजको बैठकमा सदनलाई सुचारु गराउने र छलफल अघि बढाउनेबारे कुरा भएको बताए।
यो बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले उपस्थित भएन। एमाले उपस्थित नभए पनि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीसहितले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग र अमेरिकी परियोजना एमसीसीबारे कुराकानी गरेका छन्।
सभामुख सापकोटाले एमसीसीबारे पनि बैठकमा उपस्थित सबै दलका नेताले धारणा राखेको पनि बताए। ‘एमसीसीबारे सबैले धारणा राखेका छन्। सबैका धारणालाई तटस्थ र स्वतन्त्र रुपमा सुनेको छु’, उनले भने, ‘सभामुखका हैसियतले मैले स्वतन्त्र र निष्पक्ष रुपमा निर्णय गर्नुपर्छ।’
उनले एमसीसीबारे घुमाउरो जवाफ दिँदै आफू ‘अम्पायर’ मात्रै भएको उल्लेख गरे। ‘अन्तिममा आउने संसदमै हो। तर सहमतिका साथ आउनुपर्छ भन्ने कुरा हो’, उनले एमसीसीबारे भने, ‘म त अम्पायर’ न हो, निर्णय गर्ने भूमिकामा दलहरु नै छन्।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया