काठमाण्डौः स्वदेशमा उत्पादन वृद्धि नहुँदा मुलुकको व्यापार घाटा चुलिँदै गएको छ। दैनिक उपभोग्य लगायतका वस्तुमा विदेशको भर पर्दा आयात बढेर व्यापार घाटाको खाडल बढेको हो। पोहोरको तुलनामा चालु आर्थि वर्षको ७ महिनामा व्यापार घाटा करिब ३ खर्ब रूपैयाँले बढेको छ।
भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको साउनदेखि माघसम्म (७ महिना) को व्यापार घाटा १० खर्ब १५ अर्ब रूपैयाँ पुगेको छ। पोहोर सोही अवधिमा व्यापार घाटा ७ खर्ब ३३ अर्ब रूपैयाँ थियो। पोहोरको तुलनामा आयात करिब ४३ प्रतिशतले बढेको छ।
पोहोर ८ खर्बको वस्तु आयात भएकोमा यो वर्षको सोही अवधिमा ११ खर्ब ४७ अर्ब रूपैयाँको आयात भएको छ। पोहोर ७ महिनाको तुलनामा यसपालि निर्यात ८८ प्रतिशतले वृद्धि भए पनि यसको हिस्सा सानो छ। यो वर्षको ७ महिनामा १ खर्बको वस्तु निर्यात भएको छ।
मुलुकको व्यापार घाटा कुल बजेटको आकारभन्दा ठूलो हुने देखिएको छ। चालु आर्थिक वर्ष ०७८/७९ मा मुलुकको कुल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँको छ। ७ महिनामै व्यापार घाटा १० खर्ब रूपैयाँ पुगेको छ। यसरी हेर्दा एक वर्ष (१२ महिना)मा व्यापार घाटा करिब १८ खर्ब रूपैयाँ पुग्ने देखिन्छ। यो मुलुकको बजेटको आकारभन्दा धेरै हो।
रेमिटेन्स आप्रवाहमा कमी र वस्तुको आयात वृद्धि हुँदा मुलुकमा विदेशी विनिमय सञ्चितिमा गिरावट आएको छ। व्यापार घाटाले अर्थतन्त्रमा पनि असर पुगेको छ। उच्च व्यापार घाटासँगै घट्दो रेमिटेन्स आयका कारण विदेशी विनिमय सञ्चितिमा चाप परेको हो। वैदेशिक व्यापार घाटा उच्चदरमा बढेको भन्दै सरोकारवाले चिन्ता व्यक्त गरेका छन्। आयात वृद्धि हुँदा विदेशी विनिमय सञ्चितिमा कमी आएको छ।
औद्योगिक कच्चा पदार्थ लगायत वस्तु आयात अर्थतन्त्रका लागि सकारात्मक मानिए पनि स्वदेशमा नै उत्पादन गर्न सकिने कृषि तथा पशुजन्य वस्तुहरू आयात भएको छ। यो अर्थतन्त्रका लागि नराम्रो संकेत हो। सरकारले औद्योगिक वस्तुको उत्पादन वृद्धि गर्ने रणनीति तय गरे पनि सफल हुन सकेको छैन। हरेक वर्षको बजेटमा कृषि लगायत औद्योगिक उत्पादन वृद्धि गर्ने नीति लिइए पनि कार्यान्वयन भएको छैन।-नागरिक दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया