श्रावण ५, २०८२ सोमबार July 21, 2025

सशस्त्रमा डीआईजी बढुवा प्रक्रिया सुरु,यी हुन् प्रतिस्पर्धी उम्मेदवार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गृह मन्त्रालयले सशस्त्र प्रहरीमा रिक्त नायब महानिरीक्षक (डीआईजी)को बढुवा प्रक्रिया अगाडि बढाएको छ ।

बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले शुक्रबार सूचना प्रकाशित गरी बढुवा समितिको १३ फागुनको निर्णयअनुसार प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् । सो सूचनामा पाँच दिनभित्र आवश्यक कागजातसहितको मूल्यांकन फारम भरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनेका छन् ।

सशस्त्र प्रहरीमा अहिले डीआईजीको तीनवटा पद रिक्त छ । प्रविणकुमार श्रेष्ठ, खड्ग राई र मन्दिप श्रेष्ठले अवकाश पाएपछि ती पद रिक्त हुन गएको हो ।

यद्यपि, एक वर्ष थप नभएपछि सर्वाेच्च अदालत गुहारेका प्रविणकुमार श्रेष्ठको मुद्दा भने सर्वाेच्च अदालतले अन्तिम किनारा लगाइसकेको छैन । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डा. कुमार चुडालको १३ साउन २०७८ को संयुक्त इजलाशले ८ साउन २०७८ को अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि श्रेष्ठ पदमुक्त भएका थिए ।

तर, सोही आदेशमा प्रस्तुत रिट निवेदनका सम्बन्धमा प्रत्यर्थीबाट लिखित जवाफ परेपछि वा म्याद नाघेपछि प्रस्तुत रिट निवेदनलाई अग्राधिकार दिई पेस गर्नु भन्ने उल्लेख छ । सर्वाेच्च अदालतले यो विषयको मुद्दालाई पटकपटक पेसीमा चढाउँदै आएको छ ।

सशस्त्र प्रहरीमा वरिष्ठताका आधारमा वरिष्ठ उपरीक्षक (एसएसपी) विदुर खड्का, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठक अगाडि छन् । यी सबै जना नेपाल प्रहरीमा प्राविधिक सईमा प्रवेश गरी सशस्त्र प्रहरीमा स्थानान्तरण भई आएका हुन् ।-राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया