काठमाण्डौंः गत आइतबार प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेसँगै सत्तारुढ नेकपा माओवादी केन्द्रमा विवाद देखिएको छ ।
व्याख्यात्मक घोषणामार्फत एमसीसी पारित गराउन महत्वपूर्ण भूमिका खेलेका अध्यक्ष प्रचण्ड र एमसीसी पारित गर्न नहुने पक्षमा रहेका नारायणकाजी श्रेष्ठबीच दुई लाइन संघर्ष चर्किएको छ ।
पूर्वएकताकेन्द्र समूहका नेताहरु एकतातिर उभिएको र पार्टीबाट विद्रोह गर्न सक्ने आँकलनकाबीच प्रचण्ड मंगलबार हात्तिवनस्थित नेता श्रेष्ठको निवासमा पुगेर छलफल गरेका थिए ।
भेटमा प्रचण्डले आफूले फरक परिवेशमा भनेका कुरालाई लिएर अन्यथा नठान्न र पार्टीमै बसेर छलफल गर्न श्रेष्ठसँग आग्रह गरेका थिए । श्रेष्ठले चाहिँ सोमबारको प्रचण्डको अभिव्यक्तिले झस्काएको बताएका स्रोतको भनाइ छ ।
सोमबार प्रचण्डले श्रेष्ठप्रति टिप्पणी गर्दै भनेका थिए, ‘एमसीसीको विरोध गरे भएभरका सबै कार्यकर्ता मतिर केन्द्रित हुन्छन् भन्ने ठान्नुभएको होला । जनता सबै मतिर ह्वार्रै आउँछन् भन्ने ठान्नुभएको होला । एमसीसीको विरोध गर्ने बित्तिकै सबै जनता आउने भए नेमकिपाका सांसद प्रेम सुवालले लगातार मुर्दावादका मुर्दावाद गरिरहनुभएको छ। नेपालभरका सबै उहाँतिर जानुपर्ने हो, तर त्यस्तो हुँदैन ।’
महाकाली सन्धिमा एमालेले राष्ट्रघात गरेको भन्दै वामदेव गौतमले पार्टीबाट आधा केन्द्रीय सदस्य लगे पनि चुनावी नतिजा शून्य भएको प्रचण्डले स्मरण गराएका थिए ।
‘तत्कालीन एमालेले महाकालीमा राष्ट्रघात गऱ्यो भनेर वामदेवजी पार्टी केन्द्रीय समितिको आधा लिएर जानुभयो । भोट आउने बेला जिरो भयो । त्यसैले एमसीसीमा कोही सेन्टिमेन्टमा आउँन जरुरी छैन । त्यसमा सबै स्पष्ट हुनु पर्छ’, उनले भनेका थिए ।
प्रचण्डको यस्तो अभिव्यक्तिलाई पूर्वएकता केन्द्रका नेताहरुले पार्टीबाट छाडेर गए हुन्छ भन्ने अर्थमा लिएका छन् । नेता नारायणकाजी श्रेष्ठले पूर्व एकताकेन्द्रका नेताहरुसँग परामर्श गरेको स्रोतको दाबी छ ।
ुअस्ति प्रचण्डले नारायणकाजी कमरेडलाई घुमाउरो भाषामा पार्टी छोडे हुन्छ भन्ने खालको भाषण गरेपछि उहाँ आफू निकटका नेता, कार्यकर्तासँग छलफलमा हुनुहुन्छु श्रेष्ठनिकट एक नेताले भनेका छन् ।
तर असन्तुष्ट पक्षका एक नेताले भने आफूहरुले आगामी केन्द्रीय कमिटीमा यसबारे गम्भीररुपमा कुरा राख्ने बताउँदै दुई लाइन संघर्षलाई समान्य रुपमा लिनुपर्ने बताए ।
यसैक्रममा आगामी शुक्रबार माओवादीको केन्द्रीय कमिटीको बैठक बस्दैछ । घटना र बिचार
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया