जेठ ६, २०८१ आइतबार May 19, 2024

जङ्कफुड नै विद्यालयको दिवा खाजा !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सरकारले बालबालिकालाई दिवा खाजा खुवाउने नीति अघि सारे पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन् । विद्यालयमै खाजाको व्यवस्था गरी बालबालिकालाई शिक्षण सिकाइ केन्द्रित बनाउन विद्यालयमा पोषिलो खाजा कार्यक्रम लागु भए पनि त्यो अहिलेसम्म प्रभावकारी भएको छैन ।

बालबालिकालाई विद्यालय आफैँले करिब १५ रुपैयाँ बराबरको पोषिलो खाजा खुवाउनुपर्ने नियम छ । तर, अधिकांश विद्यालयले विद्यार्थी वा अभिभावकलाई खाजावापतकाे ५ रुपैयाँ दिँदा उनीहरूको खाजाको रुपमा जंकफुड प्रयोग बढेको छ । विद्यालयमै खाजाको व्यवस्था नहुँदा बालबालिकाले चाउचाउ, नमकिन, बिस्कुट जस्ता वस्तु प्रयोग गर्ने गरेका बताउँछन् । यद्यपि, यसभन्दा पहिले भने घरबाट उत्पादित खाजा खाने र त्यसवापत अभिभावकलाई नगद दिने व्यवस्था गरिएको थियो ।

विद्यालयको कमजोर व्यवस्थापनका कारण बालबालिकाले जंकफुड खान बाध्य भएको अभिभावक भूमिसरा बोहराले बताइन् । ‘विद्यालयमै खाजाको व्यवस्था छैन, मैले त अधिकांश समयमा घरमै नास्ता बनाएर पठाउने गरेको छु,’ उनले भनिन्, ‘सधैँ सम्भव पनि नहुने रहेछ, कहिले त नगद दिएर पठाउँछु, नगद हातमा परेपछि खै के खान्छन्, थाहा छैन ।’

बालबालिकालाई जंकफुडबाट टाढा राख्न र वृद्धि विकासमा सहजता ल्याउनका लागि सरकारले प्राथमिक तहमा दिवा खाजा लागु गरेको हो । नेपालको संविधान २०७२ को अनिवार्य आधारभूत शिक्षा ऐन २०७५ एवं नियमावली २०७७ अनुसार बालबालिकाको दिवा खाजा कार्यक्रम कानुनी रूपमा स्थापित गरेको छ ।

प्राथमिक तहका बालबालिकालाई दिवा खाजाका लागि प्रतिविद्यार्थी १५ रुपैयाँका दरले आउने गरेको छ । विद्यालयले गुणस्तरीय खाजाको व्यवस्थापन गरी बालबालिकालाई दिवा खाजा खुवाउनुपर्ने भए पनि अधिकांश विद्यालयले अभिभावकलाई नगद रुपैयाँ दिँदा बालबालिकाले जंकफुड खान बाध्य छन् । विद्यालयमै नास्ता बनाएर खुवाउनुको साटो अभिभावकसँग समन्वय गरेर सरकारको मापदण्डविपरीत सोझै तोकिएको रकम एकमुष्ट दिने गरेको अर्का अभिभावक श्रीजना चौधरीले बताइन् । ‘कोरोना महामारीअघि विद्यालयमै खाजाको व्यवस्था थियो, तर कोरोना महामारीपछि बालबालिकाले जंकफुड खान बाध्य छन्,’ उनले भनिन्, ‘विद्यालयले खाजाको व्यवस्था विद्यालयमै नगर्दा बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको छ ।’

सरकारको नीतिअनुरुप सामुदायिक विद्यालयका प्राथमिक तहका विद्यार्थी जंकफुडमुक्त हुनुपर्ने हो । तर, त्यसो हुन सकिरहेको छैन । सामुदायिक विद्यालयको नेतृत्व गरिरहेका स्थानीय तहका शिक्षा शाखाले भने विगतका वर्षमा सो कार्यक्रम लागु भए पनि कोरोना महामारी लगायत कारण कार्यक्रम कार्यान्वयन हुन नसकेको स्वीकार गरेका छन् । आउँदो शैक्षिक सत्रबाट कार्यक्रम कार्यान्वयन गर्नका लागि सम्बन्धित पक्षसँग सहमति भइसकेको तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताए ।

‘प्राथमिक तहका विद्यालयमा साना बालबालिकाको लागि दिवा खाजा कार्यक्रम लागु भएपनि कोरोनाका कारण प्रभावित हुन पुगेको छ ।’ उनले भने, ‘अब आगामी शैक्षिक सत्रदेखि यो कार्यक्रम लागु गछौँ, दिवा खाजाले बालबालिकाको सिकाइलाई पनि सहज बनाउँछ ।’

दिवा खाजा विद्यालयमा लागु नहुँदा धेरै बालबालिकाले कक्षा छोड्ने गरेका छन् । विद्यालयमै खाजा नहुँदा विद्यालय जाने समस्या बढेको छ । सरकारले सामुदायिक विद्यालयका प्राथमिक तहका विद्यार्थीको लागि कार्यक्रम ल्याएकोमा विद्यालयले सकारात्मक रुपमा लिए पनि बजेट अभावमा कार्यक्रम प्रभावकारी हुन नसकेको पशुपति माध्यमिक विद्यालय हरिपौराका प्रधानाध्यापक रुद्र डाँगीले बताए ।

‘कार्यक्रममात्र ल्याएर भएन, बजेटको पर्याप्तता नहुँदा दिवा खाजा कार्यक्रमले निरन्तरता पाउन सकेको छैन,’ उनले भने, ‘कोरोना महामारी आएपछि यो कार्यक्रम नै प्रभावित हुन पुगेको छ ।’

सिकाइलाई दिगो बनाउन शिशु कक्षादेखि पाँच कक्षासम्मका बालबालिकाका लागि विद्यालय दिवा खाजा कार्यक्रम लागु गरिए पनि कार्यक्रम प्रभावकारी हुन सकेको छैन। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया