असार २२, २०८२ आइतबार July 6, 2025

पर्सा कांग्रेस सभापतिमा संस्थापन पक्षका क्षेत्रीको प्यानल नै विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पर्सामा नेपाली कांग्रेस पार्टीको जिल्ला सभापतिमा संस्थापन पक्षका जनार्दन सिंह क्षेत्रीसहित उनको पुरा प्यानलनै भारी मतान्तरले विजयी भएको छ।

क्रियाशील सदस्यता वितरणको समयदेखि नै विवाद सुरु भएपछि स्थगित हुँदै आएको नेपाली कांग्रेसको पर्सा जिल्लाको अधिवेशन बिहीबार अथार्त फागुन १९ मा भएको थियो। सभापतिमा नेता क्षेत्रीले १ हजार १ सय १० मत ल्याई विजयी भएका छन् भने उनका प्रतिद्वन्दी श्याम पटेलले ६ सय ४५ मत ल्याएका छन्।

प्रदेशकै दिग्गज नेताहरुको क्षेत्री समूहलाई साथ प्राप्त भएपछि उनले ४ सय ६५ मतको भारी अन्तरले आफूसहित प्यानल जिताउन सफल भएका हुन्। पार्टी सभापित शेरबहादुर देउवाको निकटतम मानिने नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, अर्का केन्द्रीय सदस्य अजय चौरसिया पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, प्रभावशाली नेता मानिने संविधानसभा सदस्य अनिल रुँगटालगायत नेताले क्षेत्री समुहलाई साथ दिएका छन्।

निवर्तमान जिल्ला सभापति अजय द्विवेदी र पूर्व जिल्ला सभापति राजेन्द्रबहादुर आमात्यले पटेल समूहलाई सघाएका थिए। उप–सभापतिमा नेता रामनारायण कुर्मीले १ हजार २ सय ३५ अर्थात सर्वाधीक लोकप्रीय मत ल्याएका छन्। यस समूहबाट उनी पनि सभापति पदका दावेदार रहेका थिए। अन्तिम समयमा उनले नेता क्षेत्रीको लागि आफ्नो दावी त्याग गरेर उपसभापतिमा उम्मेदवारी दिन तयार भएका थिए। अर्का उपसभापतिमा अशोक गुप्ता जितेका छन्।

यस्तै सचिवमा इम्तियाज आलम र दिनेश चौधरी निर्वाचित भएका छन्। सह सचिवमा नवीन सिंह र मदन राउत अहिर जितेका छन्। विद्यार्थी जीवनमा स्कुल इकाईबाट नेपाल विद्यार्थी संघमा लागेका नेता सिंह जिल्ला विकास समिति पर्साको एक पटक उपसभापति र अर्को पटक सभापति भएका थिए। उनी पर्सा जिल्लामा उनको पालामा भएको ग्रामिण सडक संजालीकरणका कारण चिनिन्छन्।

त्यस्तै तराईमा पर्यटनको अवधारणाकार पनि उनलाई मानिनन्छ। हक्की स्वभाव र स्पष्टवक्ता रहेका प्रभावशाली व्यक्तित्व रहेका क्षेत्रीले पर्सामा कांग्रेस पार्टीलाई पुनः स्थापति गराउने उनका समर्थकहरुले आशा राखेका छन्। मत परिणाम मुख्य निर्वाचन अधिकृत नरेन्द्र केसीले सार्वजनिक गरेका थिए। पर्साका कुल १ हजार ८ सय ३ प्रतिनिधि मतदाता रहेकोमा एक हजार ७ सय ७९ मत खसेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया