असार २९, २०८२ आइतबार July 13, 2025

महिला क्रिकेट प्रतियोगिता : मोरङ र झापा विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आजदेखि विराटनगरमा प्रथम ‘इक्युवालिटी कप महिला क्रिकेट–२०२२’ प्रतियोगिता सञ्चालन भएको छ ।

नेपाल क्रिकेट फाउण्डेशन र मोरङ क्रिकेट सङ्घद्वारा संयुक्तरूपमा विराटनगरको वैजनाथपुर क्रिकेट खेलमैदानमा शनिबार भएको उद्घाटन खेलमा मोरङ र झापा जिल्ला क्रिकेट टोली विजयी भएका छन् । पहिलो खेलमा मोरङले मधेश प्रदेशको सप्तरीलाई १५१ रनको अन्तरले पराजित गरेको छ । मोरङले निर्धारित २० ओभरको खेलमा एक विकेट गुमाइ १९४ रन बनाएको थियो भने सप्तरीले १४ दशमलव एक बलमा ४३ रनमा अलआउट भएको छ ।

यसैगरी दोस्रो खेलमा नेपाली अन्तर्राष्ट्रिय खेलाडी सम्मिलित झापाले सुनसरीलाई ९१ रनको अन्तरले पराजित गरेको छ । झापाले निर्धारित २० ओभरमा तीन विकेट गुमाइ १४० रन बनाएको थियो भने सुनसरीले १८ दशमलव दुई बलमा सबै विकेट गुमाइ ४९ रनमात्र बनाएको थियो । आइतबारको पहिलो खेल सप्तरी र सुनसरी तथा दोस्रो खेल झापा र मोरङबीच हुने फाउण्डेशनका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिता यही फागुन २४ गतेसम्म सञ्चालन हुने छ । प्रदेश नं १ को झापा, मोरङ, सुनसरी र मधेस प्रदेशबाट सप्तरी जिल्ला गरी चार समूहले प्रतियोगितामा भाग लिएका छन् । लिगको आधारमा खेलाइएको प्रतियोगितामा टप दुई टिमले फाइनलमा पुग्ने छ । चार दिनसम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिब रु पाँच लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।

एकल महिला र ज्येष्ठ नागरिकलाई सम्मान

एकल महिला, ज्येष्ठ नागरिक, अशक्त र असहाय परिवारलाई आज यहाँ सम्मान गरिएको छ । हलेसी महिला सशक्तीकरण सेवा केन्द्र विराटनगर–८ ले उनीहरूलाई सम्मान गर्दै आवश्यक लत्ताकपडा वितरण गरेको छ ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले सम्मान एवं साडीलगायतका आवश्यक विभिन्न प्रकारका कपडा वितरण गर्नुहँुदै आफ्नो अधिकारका लागि स्थानीय तहलगायत दलको नेतृत्व तहमा महिलाको सहभागिता वृद्धि हुनु आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा ५० जनाभन्दा बढी महिला तथा अशक्त, असाहय र विपन्न परिवारलाई आवश्यक समाग्री वितरण गरिएको संस्थाका अध्यक्ष सीता मिश्राले बताउनुभयो । संस्थाले कोभिडका समयमा आवश्यक स्वास्थ्य सुरक्षाका लागि मास्क तथा चिसोमा न्यायो कपडा वितरण गरिसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया