असार २३, २०८२ सोमबार July 7, 2025

देउवाको प्रवृत्ति, कार्यशैलीप्रति मेरो जहिले पनि असहयोग र असहमति छ ? – रामचन्द्र पौडेल (अन्तर्वार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने/नगर्ने भन्नेबारे कांग्रेसभित्रै मतैक्यता देखिँदैन । गठबन्धन नगर्दा धेरै कार्यकर्ताले अवसर पाउँछन् भन्ने मत बलियो छ नि ?

एउटा कुरा सुन्नु न, हामीले गठबन्धन नगरौँला । हामीले गठबन्धन नगरेपछि अरूले पनि गरेनन भने त छुट्टाछुट्टै एक्लाएक्लै लडौँला । त्ये ठिकै छ । तर, के त्यस्तो हुन्छ ? माओवादी सिङ्गल लड्ने, माधव नेपाल बेग्लै लड्ने, एमाले बेग्लै लड्ने अरू सबै एक्लै लड्ने हुन्छ ? त्यस्तो हुन्छ भने हामी पनि एक्लै लडौँ ।

गठबन्धनको विषयमा पार्टीमा छलफल भएको छैन त ?

त्यस्तो हुने सम्भावना देख्दिन म । किनभने कहिलेकाहीँ एलायन्स गरेर नेताहरू आफ्नो मान्छे जिताउन चाहान्छन् । प्रचण्ड आफ्ना केही न केही सांसद केन्द्रमा पुर्‍याउन चाहान्छन्, केही न केही स्थानीय तहमा पुर्‍याउन चाहान्छन् ।

अरूभन्दा पनि प्रचण्ड एकदमै महत्वाकांक्षी छन् । उनले राष्ट्रिय राजनीतिमा आफ्नो भूमिकाको लागि पनि गठबन्धन गरेर, जोसँग मिलेर हुन्छ, उनले एलायन्स गरे, गरे ।

तपाईंकै पार्टीका नेताहरू बोलेका कारण सभापतिले हस्तक्षेप गरेर गठबन्धनको बारेमा जथाभावी नबोल भन्ने स्थिति त आयो नि ?

कम्युनिस्टलाई अहिले एक गराउन ठुलो शक्तिकेन्द्र लागिराखेको छ । कम्युनिस्टलाई एक ठाउँमा ल्याउने फ्याक्टर त्यसै बसेको छैन । एकपटक गठबन्धन तोडेर जा भनेर लत्याएपछि उ निहुरेर भएपनि पुग्न सक्छ । अपमान सहेर पनि आफ्नो आत्मरक्षाको लागि जान सक्छ । स्वार्थको कुरा हो नि । आफ्नो इन्ट्रेस्टको कुरा हो नि  त्यहाँ कोही मित्र, शत्रु हुँदैन । स्वार्थ मिले मित्र, नमिले शत्रु हुन्छन् । त्यसो भएको हुनाले सोझो रूपमा राजनीति हेरेर उनीहरूले के राजनीति गर्छन् ?

मैले अस्तिनै एमसीसीको बारेमा विरोध नगर्न त भनेको थिएँ । यस बारेमा पनि मैले सभापतिज्यूलाई कार्यसमितिको बैठक बोलाएर छलफल गर्न भनेको छ । कार्यसमितिको बैठक बोलाउ, निर्णय गर, निर्णय अनुसार बोल भनेर भन्नुपर्‍यो नि । व्यक्तिगत विचार बोल्नुभन्दा बैठक बोलाएर निर्णय गराउन भनेर मैले सभापतिलाई भनेको छु । ओपिनियन डिफल्ट भयो, निर्णय गरेपछि पार्टीको निर्णय नै ओपिनियन हुन्छ ।

कांग्रेसको विधानले उमेदवार टुंगो लगाउने विषयमा पनि व्यवस्था गरेको छ । तर, आकांक्षी धेरै हुन्छन्, ती आकांक्षीले चुनावमा अन्तर्घात गर्छन् भनेर कांग्रेसमा नै छलफल हुन्छ । यसपटक त्यसलाई कसरी रोक्न सक्नुहुन्छ ?

त्यही त समस्या छ, कांग्रेसमा । कांग्रेसमा अराजक प्रवृत्ति छ । कम्युनिस्टमा यस्तो झगडा छ भनेर हामी भन्छौँ, तर हाम्रोमा त्योभन्दा गम्भीर समस्या छ । उनीहरूका मतदाता निर्वाचनमा एकैठाउँ पुग्छन्, हाम्रा चाहिँ दशतिर जान्छन् । कसैले सूर्यमा छाप हाल्छन्, यस्तै छ नि त कांग्रेस । यो अराजकताको अन्त्य भएको छैन नि त अझै पनि ।

गठबन्धनको समन्वय गर्नुभयो, संसद् अहिले पनि अवरुद्ध नै छ, अब गठबन्धन कसरी अगाडि बढ्ला ?

गठबन्धनमा यसको बारेमा कुरा भएको छैन । पहिले त यस विषयमा हाम्रो पार्टीले पनि ओपिनियन बनाएको छैन । उनीहरूसँग पनि कुरा गर्नुपर्‍यो । केही न केही रूपमा गठबन्धनमा छलफल गर्नुपर्ने छ । छलफल गरेर, तिमीहरूको चाहना के हो, कहाँसम्म चाहेका हौ, हामीले कतिसम्म गर्न सक्छौँ, सोध्नु पनि पर्ला । त्यो कुरा हुन सक्छ ।

त्यो कुरामा प्रचण्ड, माधव नेपालहरूको चाहना हुन्छ, माथिदेखि भागबण्डा गरौँ । त्यसमा हाम्रो पार्टी सायद तयार हुँदैन । यहीँबाट रोग थोपरेर हुँदैन । स्थानीय तहमा साथीहरूलाई हामी यतिसम्म भन्न सक्छौँ कि– अब हामी एब्सुलोट भएको ठाउँमा हामी लडौँ, हाम्रो पकड नभएको ठाउँमा हामी अर्को पार्टीसँग मिलौँ । अर्को पार्टीसँग मिल्दा यही गठबन्धन भित्रका सँग मिलौँ है, कहीँ एमालेसँग मिल्ने कहीँ कोसँग मिल्ने नगरौँ । पार्टीले आउटलाइन दिन सक्छ ।

स्थानीय तहमा आवश्यकता अनुसार गठबन्धन गर्दा पनि एमालेसँग गर्ने होइन । गठबन्धन भित्रकै दलसँग गर्ने हो । हाम्रो प्रतिष्पर्धा एमालेसँग नै हो ।

गठबन्धन मिलेर लड्ने भन्नुहुन्छ । एमसीसीकै कारण गठबन्धनको एक दल जनमोर्चा त बाहिरियो नि ?

एमसीसीमा के हो भने, यी कम्युनिस्टहरू धरातलीय यथार्थ भन्दा बाहिर बोलेर, इमोसनल कुरा गरेर, जनताको मनोभावलाई भड्काएर स्वार्थ पुरा गर्ने प्रवृत्ति यिनीहरूको हो । तर, अब यिनीहरूको प्रवृत्तिदेखि विश्व विभाजित त छ नै । एउटा कम्युनिस्ट, अर्को नन कम्युनिस्ट वर्ल्ड ।

उनीहरू कम्युनिस्ट विश्वका मान्छेहरू, कम्युनिस्ट विश्वको इन्ट्रेस्टअनुसार बोल्छन् । कम्युनिस्ट र कांग्रेसमा फरक के हो भने, उनीहरू कम्युनिस्ट विश्वको इन्ट्रेस्ट भन्दा पर जानै सक्दैनन । नेसनको इन्ट्रेस्टलाई प्राथमिकता दिनुभन्दा चीनको इन्ट्रेस्टलाई प्राथमिकता दिन्छन् ।

तर, कांग्रेस यस्तो पार्टी हो कि, उसले नेसनलाई पहिलो प्राथमिकता दिन्छ । अमेरिका, भारत, बेलायत जो सुकै हुन्, ती हाम्रा मित्रहरू हुन, डेमोक्रेटिक वर्ल्ड हो । तर, उनीहरूलाई भन्दा नेसनलाई कांग्रेसले बढी इन्ट्रेस्ट दिन्छ ।

अहिले हामीले अमेरिकालाई महत्व दिएको होइन, देशको हितलाई महत्व दिएका हौँ । देशको हित के छ भन्दा, यो विद्युत प्रसारण लाइन तुरुन्त खडा गरेर विद्युत बेच्नु छ । त्यो अमेरिकाले अनुदानमा पैसा दियो, त्यो अनुदानलाई हामीले सदुपयोग गर्ने ।

नगर्दा के हुन्छ भन्दा अमेरिका त रिसाउँछ होला, अपमान त फिल गर्छ होला । त्यतिमात्रै नभएर डोनर कम्युनिटी सबैमा पनि नेपाल त भरलाग्दो रहेनछ, सहयोग दिन्छु भन्दा नलिने । त्यसै दिँदा नलिने, चीनको ऋण लिने, यो त चीनको पोल्टामा गएछ । चीनको पोल्टामा गएकोलाई हामीले किन हेर्ने भनेर भन्यो भने, त्यो बेलामा हामीलाई नोक्सान हुन्छ नि त । डोनर कम्युनिटी चिढिनुको मतलब, हाम्रो विकासमा हामीले चाहेको सहयोग नपाउने स्थिति हुन्छ । हामीले कैयौँ, जलविद्युत आयोजना बनाउनुपर्ने छ, त्यसको लागि सहायता चाहिन्छ । हामीले आफ्नो खुबीले बनाउन सक्ने स्थिति छैन ।

हामीले जसरी हुन्छ, काम गरिहालौँ, पछि तिर्दै जाउँला, उनीहरूले ऋण दिन्छन्, उनीहरू उदार पनि छन्, नेपालले तिर्न सक्दैन भैगो पनि भनिदिन्छन् । सस्तो ब्याजमा दिन्छन्, चाइनिजले जस्तो, तैँले तिरिनस, यो मेरो भयो भन्दैनन ।

त्यसैले कांंग्रेसले यति राम्रो अनुदान आएको पैसा लिनुपर्छ, राष्ट्रको हितमा हुन्छ भनेर कांग्रेसले त्यसरी सोच्यो ।

तर, एमसीसी संसद्मा निर्णयार्थ प्रस्तुत गर्दा एमालेको भूमिका किन देखिएन होला ?

यो जति अवसरवादी पार्टी कोही छैन । यो खाली आफ्नो निहित स्वार्थमा मात्रै केन्द्रित भएको पार्टी हो । केपी ओली त्यो नेता हो, जो सम्पूर्ण रूपले सेल्फ सेन्टर, आफूभन्दा माथि न पार्टी, न सिद्धान्त, न राष्ट्र केही सोचेका छैनन । लिँडेढिपी गरेर बसेका छन् ।
ओली इमानदार हुँदा हुन त, उनले हामीले ल्याएको प्रस्ताव हो, यद्यपी हाम्रो सभामुखको विरोध जारी छ, तर हामी यो केस हामीले ल्याएको हुनाले हामी मौन बस्छौँ, मात्र त भन्न सक्थे । त्यति एउटा गुड गेस्चर देखाउन त सक्थे नि । त्यो पनि देखाउन नसक्ने पार्टी हो ।

प्रधानन्यायधीशमाथि महाभियोग गठबन्धनले ल्यायो, संसद् अवरुद्ध नै छ, अब महाभियोग के हुन्छ ?

पास गर्न दुइतिहाई चाहिन्छ, प्रधानन्यायधीशमाथि त्यतिका महिना, आलोचना खाइरहेका छन्, छवि धुमिल भइरहेको छ । वकिलहरू, न्यायधीशहरू विरोधमा छन् । अदालतलाई विषाक्त अवस्थामा राखेर त्यस्तो आरोपित व्यक्तिलाई कति बोकिराख्ने भनेर महाभियोग ल्याएको हो ।

महाभियोग त माधव नेपालका चौध सांसदलाई जोगाउन ल्याइएको भन्ने छ नि ?

सांसद जोगाउने कुराले होइन । वकिल, न्यायधीशले लगाएको आरोप छ नि । कति सेटिङमा काम गरेका छन् । न्यायपालिकाले कार्यपालिकासँग सेटिङ गर्ने हो ? उनले त संविधान, न्याय, कानूनको दृष्टिले के ठिक छ त्यही गर्ने हो नि । न्यायपरिषद्मा जबरजस्ती अध्यादेश ल्याएर न्यायपरिषद्को गरिमा नै सखाप पार्न खोज्ने खालको बनाएपछि, ती आयोगलाई कसरी विश्वास गर्ने ? निर्वाचन, लोकसेवा आयोग स्वच्छ हुन्छ भनेर कसरी विश्वास गर्ने ?

यसले निकास पाउँछ पाउँदैन भनेर भन्न सक्दिनँ । हामीले आफ्नो कर्तव्य निर्वाह त गर्‍यौँ नि । एमालेले पनि सहयोग नगर्न गाह्रो छ । यत्रो भ्रष्टाचारको आरोप छ, अभियोग लागेको छ । उनलाई जोगाउन खोज्दा उसको पनि छवि धुमिल होला नि ।

एमसीसीबारे जनता विभाजित छन्, उनीहरूमा भ्रम परेको छ, कांग्रेसले कसरी एमसीसीको भ्रम चिरेर जनतालाई बुझाउला त ?

एमसीसीको भ्रम चिरियो, पास गरेपछि स्वतः चिरियो । अहिले त सामसुम भइसक्यो नि । किनभने रियलिटी इज रियलिटी । पहिले त भ्रम फैलाएका थिए कम्युनिस्टले । पास भएर काम सुरु भइसकेपछि, खै त अमेरिकी सेना त आउँदो रहेनछ भनेर अब जनताले भन्न थाल्छन् नि त ।

अधिवेशन अगाडि तपाईंले मुखर भएर सभापतिको कार्यशैलीको आलोचना गर्नुभयो । त्यो कुरा अधिवेशन चलिरहँदा पनि कायमै रह्यो । अधिवेशनमा महाधिवेशन प्रतिनिधीले फेरि देउवालाई नै जिताए । अहिले उहाँको कार्यशैलीप्रति हजुर सन्तुष्ट हुनुहुन्छ ?

पार्टीको व्यवस्थाअनुसार व्यवस्थित त कहाँ भएको छ र कांग्रेस ? कांग्रेस व्यवस्थित पनि हुँदैन, शेरबहादुरजीले समयमा काम गर्न सक्ने उहाँको आदत पनि छैन । उहाँ त ‘चल्ता हे’ भन्ने खालको ढुक्कको मान्छे हो । त्यसले गर्दा कांग्रेसका कार्यकर्ता, हामीजस्ता मान्छेलाई अप्ठ्यारो परिरहेको छ ।

तरपनि, सभापतिलाई हजुरले समर्थन गर्नुभएको छ त ?

मैले नेसन र डेमोक्रेसीलाई समर्थन गरेको हो । देउवाको प्रवृत्ति, कार्यशैलीप्रति मेरो जहिले पनि असहयोग र असहमति छ, अहिले पनि छ । तर, एमसीसी देशको हितमा थियो, गर्नुपर्ने थियो, नत्र देशलाई ठुलो क्षति हुन्थ्यो । त्यसमा मैले स्टार्टेजिक रूपमा सहयोग गरेको हो । –बाह्रखरी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया